
भद्रपुर, २२ असार । झापाको भद्रपुर नगरपालिका–५ स्थित मेची पुलबाट प्रहरीले ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ।
आइतबार अपराह्न करिब ४ः३० बजे इलाका प्रहरी कार्यालय भद्रपुर र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय काँकडभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्र१–०१–०१२ प ९५३६ नम्बरको स्कुटर जाँच गर्ने क्रममा चालक बिर्तामोड नगरपालिका–९, गरामनी निवासी ४४ वर्षीय चन्द्रप्रसाद राजवंशीलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार शंकाका आधारमा गरिएको जाँचका क्रममा राजवंशीले आफ्नो मलद्वारभित्र लुकाएर ल्याएको ब्राउन सुगर जस्तो देखिने लिसाइलो पदार्थ फेला परेको थियो। प्लास्टिकसहित उक्त पदार्थको तौल १६ ग्राम २५० मिलिग्राम र प्लास्टिकबाहेक १४ ग्राम १४० मिलिग्राम रहेको प्रहरीले जनाएको छ।
प्रहरीले लागूऔषध, स्कुटरसहित राजवंशीलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय भद्रपुरमा राखेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


