
झापा, २५ असार । कास्कीको पोखरा महानगरपालिका–३३ मा निर्माण सम्पन्न भएको २२ मेगावाट क्षमताको सेतीखोला जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन सुरु भएको छ। परीक्षण सफल भएसँगै आयोजनाले उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गर्न थालेको हो।
सेती खोला हाइड्रोपावर लिमिटेडद्वारा प्रवर्द्धित उक्त आयोजना विसं २०७८ मङ्सिरदेखि निर्माण सुरु गरिएको थियो। नेपाल विद्युत् प्राधिकरणको प्राविधिक टोलीले आयोजना निरीक्षण तथा परीक्षण सम्पन्न गरेपछि परीक्षण उत्पादनका रूपमा विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको कम्पनीका निर्देशक दीपक बरालले जानकारी दिए।
उनका अनुसार आयोजना प्रारम्भिक रूपमा १५ दिन परीक्षण अवधिमा रहनेछ। यस अवधिमा उत्पादित विद्युत् नेपाल विद्युत् प्राधिकरणको प्रणालीमा प्रवाह गरिनेछ भने आयोजना तथा उपकरणहरूको प्राविधिक परीक्षणसमेत गरिनेछ। परीक्षण सफल भएपछि आयोजना नियमित व्यावसायिक उत्पादनमा जानेछ।
आयोजनाले गत मङ्सिरमै उत्पादन सुरु गर्ने लक्ष्य राखेको भए पनि प्रसारण लाइन निर्माणका लागि आवश्यक वन क्षेत्रको स्वीकृति प्रक्रियामा ढिलाइ हुँदा उत्पादन सुरु गर्न समय लागेको हो। प्रसारण लाइनका लागि निर्माण गरिएका पाँचमध्ये तीन वटा टावर वन क्षेत्रमा परेकाले स्वीकृति लिन ढिलाइ भएको कम्पनीले जनाएको छ।
सेतीखोला जलविद्युत् आयोजनाको बाँध पोखरा–३३ को तिकलाङमा निर्माण गरिएको छ। त्यहाँबाट तीन हजार १०६ मिटर लामो सुरुङमार्फत पानी तल्लो पुँडीटारस्थित विद्युत्गृहमा पुर्याइएको छ। आयोजनामा ११–११ मेगावाट क्षमताका दुई वटा टर्बाइन जडान गरिएका छन्।
करिब पाँच अर्ब पाँच करोड रुपैयाँ लगानीमा निर्माण भएको आयोजनाले व्यावसायिक उत्पादन सुरु गरेपछि आगामी आर्थिक वर्षभित्र सर्वसाधारणका लागि प्राथमिक शेयर (आइपिओ) निष्कासन गर्ने तयारीसमेत गरेको छ।
सेती नदीमा पछिल्लो समय जलविद्युत् आयोजनामा लगानी बढ्दै गएको छ। गत वर्षदेखि २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत् आयोजनाले व्यावसायिक उत्पादन गरिसकेको छ भने हाल आधा दर्जनभन्दा बढी आयोजना विभिन्न चरणमा निर्माण तथा विकासको प्रक्रियामा रहेका छन्।


