
तोमनाथ उप्रेती
फुटबल मानव इच्छाको इतिहास हो। यो विजय र पराजयको दर्शन हो। यहाँ एउटा गोल समयमाथि कोरिएको एउटा अमिट हस्ताक्षर पनि हुन्छ। एउटा स्ट्राइकर बललाई जालीभित्र पुर्यािउने मानिमात्र स होइन। ऊ क्षणलाई अमरतामा रूपान्तरण गर्ने कलाकार हो। उसका केही सेकेन्डका निर्णयले दशकौँसम्म स्मरणीय रहने इतिहास निर्माण गर्छन्। यही कारण फुटबलका महान् स्ट्राइकरहरू खेलाडीका रूपमा मात्र बाँच्दैनन्। उनीहरू एउटा युगको प्रतीक बन्छन्। ट्रफीले उनीहरूको मूल्य निर्धारण गर्दैन। उनीहरूको प्रभावले गर्छ। आँकडाले उनीहरूको परिचय दिँदैन। उनीहरूले मानिसहरूको चेतनामा छोडेको छापले उनीहरूलाई अमर बनाउँछ।
नर्वेका एरलिङ हालान्ड त्यही परम्पराका उत्तराधिकारी देखिन्छन्। उनी आधुनिक फुटबलका उत्कृष्ट गोलकर्तामध्ये एक मात्र होइनन्, अनुशासन, आत्मनियन्त्रण र मौन आत्मविश्वासका जीवित उदाहरण पनि हुन्। मैदानमा उनी अनावश्यक प्रतिक्रिया दिँदैनन्। उनी विवादमा समय खर्च गर्दैनन्। उनी आफ्ना शब्दभन्दा आफ्ना प्रदर्शनमा विश्वास गर्छन्। उनका खुट्टाले बोल्छन्। उनका गोलले उत्तर दिन्छन्। आजको सामाजिक सञ्जालको युगमा जहाँ चर्चामा रहन धेरै खेलाडीहरूले प्रदर्शनभन्दा प्रचारलाई प्राथमिकता दिन्छन्, त्यहाँ हालान्डको व्यक्तित्व मौन साधकको जस्तो देखिन्छ। उनी प्रसिद्धि खोज्दैनन्। उनी उत्कृष्टता खोज्छन्। यही कारण उनी आधुनिक फुटबलका सबैभन्दा विशिष्ट स्ट्राइकरमध्ये गनिन्छन्।
फुटबलको इतिहास आफैँमा मानव सभ्यताको एउटा सानो प्रतिरूप हो। सन् १९३० मा पहिलो फिफा विश्व कप सुरु भएपछि संसारले असंख्य महान् स्ट्राइकरहरूको उदय र अवसान देख्यो। समय परिवर्तन भयो। रणनीति बदलियो। नियमहरू विकसित भए। खेलको गति तीव्र बन्यो। तर एउटा कुरा कहिल्यै परिवर्तन भएन।गोल गर्ने मानिसप्रतिको सम्मान। किनभने गोल केवल अंक होइन। त्यो सामूहिक आशाको विस्फोट हो। त्यो करोडौँ समर्थकको प्रतीक्षाको उत्तर हो। त्यसैले इतिहासले सधैँ ती खेलाडीहरूलाई विशेष स्थान दिएको छ जसले कठिनभन्दा कठिन क्षणमा टोलीलाई आशा दिएका छन्।
पेलेले फुटबललाई बालसुलभ आनन्द दिए। उनका पाइला कविताजस्ता लाग्थे। बलसँगको सम्बन्ध कुनै गणितीय अभ्यासभन्दा बढी एउटा कलात्मक संवाद थियो। उनका गोल जीवनप्रतिको उत्सव थिए। उनले संसारलाई एउटा गहिरो सत्य सिकाए।प्रतिभा ईश्वरको वरदान हुन सक्छ, तर त्यसलाई इतिहासमा रूपान्तरण गर्ने काम निरन्तर श्रमले मात्र गर्छ। प्रतिभा प्रारम्भ हो। साधना पूर्णता हो। यही कारण पेले आज पनि सम्पूर्ण फुटबल सभ्यताका साझा सम्पत्ति मानिन्छन्।
त्यसपछि गेर्ड मुलर आए। उनले अर्को दर्शन प्रस्तुत गरे। फुटबलमा सबैभन्दा सुन्दर दृश्य सधैँ आकर्षक ड्रिब्लिङ वा लामो दौड मात्र हुँदैन। कहिलेकाहीँ सही समयमा सही स्थानमा उभिनु नै सबैभन्दा ठूलो कला हुन्छ। उनले मैदानलाई आँखाले होइन, चेतनाले पढ्थे। उनी खाली ठाउँ देख्थे जहाँ अरूले भीड मात्र देख्थे। उनी अवसर सुन्थे जहाँ अरूले केवल आवाज सुन्थे। यसैले उनले प्रमाणित गरे कि बुद्धिमत्ता र धैर्यले शारीरिक क्षमताभन्दा धेरै ठूलो भूमिका खेल्न सक्छ।
जस्ट फोन्टेनले एउटै विश्वकपमा बनाएको गोलको कीर्तिमान दशकौँसम्म अडिग रह्यो। त्यो संख्याको विजय थिएन। त्यो समयसँग गरिएको सम्झौता थियो। कहिलेकाहीँ इतिहासले मानिसलाई एउटा प्रतियोगिता मात्र दिन्छ। एउटा छोटो अवसर मात्र दिन्छ। तर महान् मानिसहरूले त्यही क्षणलाई युगौँसम्म सम्झिने बनाइदिन्छन्। फन्टेनको उपलब्धिले सिकाउँछ कि अवसरको लम्बाइभन्दा त्यसको उपयोग महत्त्वपूर्ण हुन्छ। छोटो समयले पनि अनन्त इतिहास निर्माण गर्न सक्छ।
रोनाल्डो नाजारियोले संसारलाई अर्को सत्य देखाए। मानिस लड्न सक्छ। घाइते हुन सक्छ। भाँचिन सक्छ। तर पुनः उठ्न पनि सक्छ। उनका गम्भीर चोटहरूले धेरैको विश्वास कमजोर बनाएका थिए। तर उनले आफ्नो यात्रालाई पराजयमा समाप्त हुन दिएनन्। उनको पुनरागमनले मानव आत्माको अदम्य शक्ति प्रमाणित गर्योज। शरीर कहिलेकाहीँ सीमित हुन्छ। आत्मविश्वास सीमित हुँदैन। यही कारण रोनाल्डोको कथा फुटबलभन्दा बाहिर पनि प्रेरणाको स्रोत बनेको छ।
मिरोस्लाभ क्लोजले विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ता बनेर अर्को पाठ सिकाए। निरन्तरता प्रतिभाभन्दा ठूलो हुन्छ। असाधारण प्रदर्शन एक दिनका लागि सम्भव हुन्छ। तर वर्षौँसम्म समान समर्पण कायम राख्नु अत्यन्त कठिन कार्य हो। क्लोजेले यही कठिन कार्यलाई सम्भव बनाए। उनले देखाए कि महानता कुनै चम्किलो क्षणको नाम होइन। त्यो साना–साना अनुशासनहरूको दीर्घकालीन परिणाम हो।
आधुनिक पुस्ताले लियोनेल मेस्सीलाई बलसँग कविता लेख्दै गरेको देख्यो। उनी खेलाडी मात्र होइन, कल्पनाशील कलाकार बने। उनले विश्वकपको सपना पूरा गर्न धेरै वर्ष प्रतीक्षा गरे। आलोचना सहे। असफलता भोगे। तर यात्रालाई रोकेनन्। अन्ततः उनले देखाए कि धैर्य समयभन्दा लामो हुन्छ। प्रतीक्षा कहिलेकाहीँ विजयको अपरिहार्य मूल्य हुन्छ। अर्कोतर्फ किलियन एम्बाप्पेले वेगलाई नयाँ परिभाषा दिए। उनले प्रमाणित गरे कि युवापन उमेरको अवस्था होइन त्यो मानसिक ऊर्जाको अभिव्यक्ति हो। गति तब मात्र प्रभावकारी हुन्छ जब त्यसलाई निर्णय गर्ने बुद्धिले साथ दिएको हुन्छ।
यी सबै महान् खेलाडीहरू शैलीमा फरक थिए। कसैले कलाले जिते। कसैले शक्तिले। कसैले बुद्धिले। कसैले धैर्यले। तर उनीहरूको अन्तिम गन्तव्य एउटै थियो।इतिहास। यही इतिहासको ढोकामा आज एरलिङ हालान्ड उभिएका छन्। उनी आफ्नो पुस्ताको प्रतिनिधित्व गर्दै भविष्यसँग संवाद गरिरहेका छन्। उनी अघिल्ला महान् स्ट्राइकरहरूको प्रतिलिपि बन्न खोज्दैनन्। उनी आफ्नै पहिचान निर्माण गरिरहेका छन्। यही मौलिकताले उनीहरूलाई विशेष बनाउँछ।
हालान्डको खेलशैली आधुनिक फुटबलमा अत्यन्त विशिष्ट छ। उनी अनावश्यक प्रदर्शन गर्दैनन्। दर्शकलाई प्रभावित पार्न कठिन चालहरूको प्रदर्शन गर्नु उनको प्राथमिकता होइन। उनी टोलीलाई जिताउन चाहन्छन्। त्यसैले उनका प्रत्येक दौडको उद्देश्य हुन्छ। प्रत्येक स्पर्शको कारण हुन्छ। प्रत्येक प्रहारको दिशा हुन्छ। उनका गोलहरूमा प्रदर्शनभन्दा उद्देश्य बढी देखिन्छ। यसैले उनी आकर्षक खेलाडी होइनन्, प्रभावकारी खेलाडी हुन्। फुटबलको अन्तिम सत्य सुन्दर चाल होइन; निर्णायक परिणाम हो। हालान्ड यही सत्यका प्रतिनिधि हुन्।
दार्शनिक दृष्टिले हेर्दा हालान्ड अस्तित्ववादी खेलाडी देखिन्छन्। उनी वर्तमानमा बाँच्छन्। अघिल्लो अवसर छुट्यो भने पछुताउँदैनन्। अर्को अवसर आउने विश्वास राख्छन्। भविष्यको चिन्ताले वर्तमानलाई कमजोर बनाउँदैनन्। यही मानसिकता महान् स्ट्राइकरहरूको आधार हो। संसारका धेरै खेलाडी बल खोज्छन्। हालान्ड अवसर खोज्छन्। धेरै खेलाडी खाली स्थान देख्छन्। हालान्ड केही सेकेन्डपछि सिर्जना हुने भविष्य देख्छन्। त्यसैले उनका दौडहरू आकस्मिक देखिए पनि ती वास्तवमा गहिरो अध्ययन, अनुभव र तीव्र खेलबोधका परिणाम हुन्।
फुटबलमा सबैभन्दा कठिन कुरा गोल गर्नु मात्र होइन, सही समयमा सही स्थानमा पुग्नु हो। हालान्डको सम्पूर्ण दर्शन यही वाक्यमा समेटिन्छ। समयलाई जित। स्थानलाई बुझ। क्षणलाई समात। त्यसपछि इतिहास आफैँ लेखिन्छ। यही कारण उनका गोलहरू तयारी, धैर्य, अनुशासन र विश्वासको संयुक्त परिणाम हुन्। उनी हतार गर्दैनन्। उनी प्रतीक्षा गर्छन्। किनभने उनी जान्दछन्—सही क्षणमा गरिएको एउटा निर्णयले सम्पूर्ण खेलको दिशा बदल्न सक्छ।
सन् २०२६ को विश्वकपमा नर्वेले पाँच पटकको विश्वविजेता ब्राजिल राष्ट्रिय फुटबल टिमलाई २–१ ले पराजित गरेको क्षणले विश्व फुटबललाई एउटा प्रश्न सोध्यो। इतिहास सम्मानको विषय हो। तर इतिहासले वर्तमानको नतिजा तय गर्दैन। मैदानमा विगतका तारा खेल्दैनन्। खेल्नेहरू वर्तमानका मानिस हुन्। जित्नेहरू वर्तमानका साहसी पात्र हुन्। त्यस दिन विश्व फुटबलले बुझ्यो कि प्रतिष्ठा स्थायी हुँदैन। परिश्रम स्थायी हुन्छ। नाम ठूलो हुन सक्छ। तर कर्म अझ ठूलो हुन्छ। ब्राजिलको इतिहास गौरवशाली थियो। तर त्यो दिन विजय नर्वेको भयो। इतिहासभन्दा वर्तमान बलियो सावित भयो। र वर्तमानको केन्द्रमा एउटा नाम दृढतापूर्वक उभिएको थियो।एरलिङ हालान्ड। उनी एउटा खेल जित्ने स्ट्राइकरका रूपमा होइन, भविष्यको विश्व फुटबलसँग दार्शनिक संवाद गर्ने नयाँ युगका प्रतिनिधिका रूपमा उभिएका थिए।
विश्व फुटबलको इतिहास महान् टोलीहरूको मात्र इतिहास होइन। त्यो महान् स्ट्राइकरहरूको इतिहास पनि हो। किनभने अन्तिम क्षणमा खेलको दिशा परिवर्तन गर्ने शक्ति प्रायः उनीहरूकै खुट्टामा हुन्छ। एउटा मिडफिल्डरले सम्भावना सिर्जना गर्न सक्छ। एउटा डिफेन्डरले संकट रोक्न सक्छ। एउटा गोलरक्षकले आशा बचाउन सक्छ। तर अन्ततः जितको कथा धेरैजसो स्ट्राइकरको स्पर्शबाट पूरा हुन्छ। यही कारण सभ्यताले सधैँ गोलकर्तालाई निर्णायक व्यक्तित्वका रूपमा स्मरण गरेको छ।
एरलिङ हालान्ड त्यही परम्पराका आधुनिक प्रतिनिधि हुन्। उनी भीडलाई मनोरञ्जन दिन जन्मिएका कलाकारभन्दा बढी परिणाम निर्माण गर्न जन्मिएका साधक देखिन्छन्। उनी खेललाई सजाउनेभन्दा खेलको अन्तिम निष्कर्ष लेख्ने मानिस हुन्। आधुनिक फुटबलमा जहाँ सामाजिक सञ्जाल, विज्ञापन र व्यक्तिगत छविले खेलाडीको लोकप्रियता निर्धारण गर्न थालेको छ, त्यहाँ हालान्डले अर्को बाटो रोजेका छन्। उनी प्रचारभन्दा प्रदर्शनमा विश्वास गर्छन्। प्रसिद्धिभन्दा तयारीमा विश्वास गर्छन्। यही कारण उनको व्यक्तित्व खेलभन्दा बाहिर पनि अनुशासनको उदाहरण बनेको छ।
हालान्डको खेल ‘कम शब्द, धेरै अर्थ’ को दर्शनसँग मेल खान्छ। महान् साहित्यमा जस्तै महान् फुटबलमा पनि अनावश्यक अलङ्कार आवश्यक हुँदैन। एउटा सही वाक्यले सम्पूर्ण पुस्तकको सार दिन सक्छ। त्यस्तै एउटा सही गोलले सम्पूर्ण खेलको इतिहास बदल्न सक्छ। हालान्डका धेरै गोलहरू हेर्दा दर्शकलाई कुनै जटिल चमत्कार देखिँदैन। तर त्यस गोलको पछाडि समयको सही गणना, स्थानको सही अनुमान र निर्णयको अद्भुत स्पष्टता लुकेको हुन्छ।
क्रिस्टियानो रोनाल्डो र हालान्डबीच एउटा रोचक समानता देखिन्छ। दुवैले आफ्नो शरीरलाई असाधारण अनुशासनका साथ तयार पारेका छन्। दुवैले शारीरिक क्षमतालाई केवल प्राकृतिक वरदानका रूपमा स्वीकार गरेनन्। त्यसलाई निरन्तर साधनाद्वारा अझ प्रभावकारी बनाए। तर उनीहरूबीच एउटा महत्वपूर्ण भिन्नता पनि छ। रोनाल्डोको खेलमा व्यक्तिगत चुनौतीको ऊर्जा प्रबल देखिन्छ। उनी आफैँलाई बारम्बार प्रमाणित गर्न चाहन्छन्। हालान्डको खेलमा भने आत्मप्रदर्शनभन्दा कार्यसम्पादनको मौन विश्वास बढी देखिन्छ। उनी प्रमाणित गर्नुभन्दा पूरा गर्न चाहन्छन्।
लियोनेल मेस्सी र हालान्डको तुलना गर्दा अर्को दार्शनिक अन्तर देखिन्छ। मेस्सी बलसँग यात्रा गर्छन्। बल उनको साथी हुन्छ। उनी बललाई लामो दूरीसम्म साथ लिएर प्रतिद्वन्द्वीको रक्षालाई विघटन गर्छन्। हालान्ड भने बलसँग लामो संवाद गर्दैनन्। उनी अन्तिम निष्कर्षसँग संवाद गर्छन्। उनको सम्पूर्ण ध्यान अन्तिम स्पर्शमा केन्द्रित हुन्छ। मेस्सी सिर्जनाको कवि हुन्। हालान्ड निष्कर्षका दार्शनिक हुन्। दुवै महान् छन्। तर महानताको भाषा फरक छ।
फुटबलको विकाससँगै स्ट्राइकरको भूमिका पनि परिवर्तन भएको छ। पहिले धेरै टोलीले केवल पेनाल्टी क्षेत्रमा अवसरको प्रतीक्षा गर्ने स्ट्राइकर प्रयोग गर्थे। आजको खेलमा स्ट्राइकरले दौडनुपर्छ। प्रेस गर्नुपर्छ। रक्षालाई दबाब दिनुपर्छ। खाली स्थान सिर्जना गर्नुपर्छ। टोलीको रणनीतिक संरचनाको केन्द्र बन्नुपर्छ। हालान्डले यी सबै जिम्मेवारीलाई आधुनिक ढङ्गले पूरा गरिरहेका छन्। त्यसैले उनी आधुनिक फुटबल प्रणालीका आधारस्तम्भ पनि हुन्।
हालान्डको सबैभन्दा ठूलो शक्ति उनको मानसिक स्पष्टता हो। धेरै खेलाडी एउटा अवसर गुमेपछि निराश हुन्छन्। उनीहरूको आत्मविश्वास कमजोर बन्छ। उनीहरू अर्को निर्णयमा हिचकिचाउँछन्। हालान्ड भने अवसर गुमे पनि मानसिक रूपमा स्थिर रहन्छन्। उनी विगतलाई बोकेर अर्को क्षणमा प्रवेश गर्दैनन्। उनी प्रत्येक अवसरलाई नयाँ प्रारम्भका रूपमा लिन्छन्। यही मानसिकता दार्शनिक रूपमा वर्तमानमा बाँच्ने अभ्यास हो। वर्तमानमा केन्द्रित चेतनाले नै भविष्य निर्माण गर्छ।
प्राचीन पूर्वीय दर्शनमा कर्मयोगको एउटा सिद्धान्त छ। मानिसको अधिकार कर्ममा हुन्छ, परिणाममा होइन। खेलकुदमा पनि यही सत्य लागू हुन्छ। स्ट्राइकरले प्रत्येक अवसरमा सही निर्णय गर्ने प्रयास गर्न सक्छ। तर गोल हुनेछ वा हुनेछैन भन्ने कुरा धेरै परिस्थितिमा निर्भर हुन्छ। हालान्डको खेल हेर्दा यस्तो लाग्छ कि उनी परिणामको चिन्ताभन्दा प्रक्रियामा बढी केन्द्रित छन्। यही कारण एउटा अवसर गुमे पनि उनको खेल कमजोर हुँदैन। उनी फेरि त्यही समर्पणका साथ अर्को अवसर खोज्न थाल्छन्।
विश्वकपको इतिहासले एउटा कुरा स्पष्ट रूपमा देखाएको छ। ट्रफी जित्ने टोली परिवर्तन भइरहन्छ। तर महानता केवल उपाधिले निर्धारण हुँदैन। धेरै महान् खेलाडीहरूले विश्वकप जित्न सकेनन्। त्यसले उनीहरूको योगदान सानो बनाएन। महानता कहिलेकाहीँ विजयभन्दा ठूलो अवधारणा हुन्छ। त्यसैले एरलिङ हालान्डको मूल्याङ्कन पनि केवल एउटा प्रतियोगिताको परिणामले गर्नु उचित हुँदैन। उनको वास्तविक योगदान आधुनिक स्ट्राइकरको परिभाषालाई नयाँ ढङ्गले पुनर्लेखन गर्नु हो।
सन् २०२६ को विश्वकपले एउटा नयाँ युगको संकेत दिएको छ। परम्परागत शक्तिहरू अब इतिहासको आधारमा मात्र जित्न सक्दैनन्। नयाँ पुस्ताले अनुशासन, खेलविज्ञान, सामूहिक रणनीति र मानसिक दृढताका आधारमा विश्व फुटबलको शक्ति-सन्तुलन परिवर्तन गरिरहेको छ। नर्वे त्यस परिवर्तनको प्रतीक बन्यो। र त्यस परिवर्तनको केन्द्रमा उभिएका एरलिङ हालान्ड केवल गोलकर्ता मात्र थिएनन्। उनी एउटा नयाँ युगका प्रतिनिधि थिए। उनले विश्व फुटबललाई सम्झाए कि इतिहास सम्मानको विषय हो, तर भविष्य निर्माण गर्ने अधिकार वर्तमानसँग हुन्छ।
सायद यही कारण एरलिङ हालान्डलाई हेर्दा केवल एउटा असाधारण स्ट्राइकर देखिँदैन। एउटा दार्शनिक यात्रु पनि देखिन्छ। उनी प्रत्येक दौडसँग समयलाई चुनौती दिन्छन्। प्रत्येक गोलसँग इतिहाससँग संवाद गर्छन्। प्रत्येक सफलतासँग अनुशासनको महत्त्व सम्झाउँछन्। र प्रत्येक खेलसँग एउटा मौन सन्देश दिन्छन् प्रतिभाले ढोका खोल्न सक्छ, तर चरित्र, परिश्रम र धैर्यले मात्र मानिसलाई इतिहासभित्र स्थायी स्थान दिलाउँछ।


