
झापा, २७ असार । कोशी प्रदेश प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयहरूबाट परिचालित प्रहरी टोलीले लागू औषध कारोबारमा संलग्न ८ जनालाई पक्राउ गरेको छ ।
पक्राउ परेकाहरूबाट ७१ ग्राम ६१० मिलिग्राम ब्राउन सुगर, प्रतिबन्धित लागू औषध स्पास्मो ८ ट्याब्लेट, डाइसाइक्लोमाइन–५ बोतल, ३ थान मोटरसाइकल, २ थान कार र ३२८ किलोग्राम गाँजा बरामद भएको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय भाण्टाबारीबाट खटिएको प्रहरी गस्ती टोलीले कोशी गाउँपालिका–७ स्थित सप्तकोशी नदी किनारमा ८ वटा प्लास्टिकको पोकामा पानीमा तैरिरहेको अवस्थामा ३०८ किलोग्राम गाँजा बरामद गरेको छ ।
चेकजाँचको क्रममा इलाका प्रहरी कार्यालय महेन्द्रनगरले बराहक्षेत्र नगरपालिका–१० का गणेश यादव र उनका छोरा विकास यादवलाई ४ ग्राम २३० मिलिग्राम ब्राउनसुगर, २०८ ग्राम गाँजा, प्रतिबन्धित लागू औषधी स्पास्मो–८ ट्याब्लेट सहित नियन्त्रणमा लिएको छ ।
चेकजाँचकै क्रममा विराटनगर महानगरपालिका–८ का शिवकुमार रायलाई प्रतिबन्धित लागू औषध स्कूफ–डिएक्स ५ बोतलसहित अस्थायी प्रहरी चौकी मटेरुवाले र पथरीशनिश्चरे नगरपालिका–१ का राज राई र पथरीशनिश्चरे–८ का नरबहादुर विश्वकर्मालाई ६४० मिलिग्राम ब्राउन सुगर, प्र.१–०२–००२ च ८९२० नम्बरको कार र मे.५ प ४९५९ नम्बरको मोटरसाइकलसहित इलाका प्रहरी कार्यालय पथरीले नियन्त्रणमा लिएको छ ।
चेकजाँचकै क्रममा झापाको वडा प्रहरी कार्यालय भद्रपुरले कमल गाउँपालिका–५ का अनिल धिमाललाई २ ग्राम ५० मिलिग्राम ब्राउन सुगर सहित, इलाका प्रहरी कार्यालय अनारमनी र लागू औषध नियन्त्रण ब्यूरो काँकडभिट्टाले भारत किशनगञ्जका अल्ताप अन्सारी र बिर्तामोड–५ का सुरज चौधरीलाई ४ ग्राम २४० मिलिग्राम ब्राउन सुगर र १ थान डिजिटल तराजु सहित नियन्त्रणमा लिएको छ ।
त्यसैगरी मोरङको जहदा गाउँपालिका–१ स्थित सडक खण्डबाट बा.१२ च ७५५२ नम्बरको कारमा १९ किलो ३२० ग्राम गाँजा र ब्राउन सुगर ६० ग्राम बरामद भएको छ भने कार चालकको खोजी कार्य भइरहेको छ ।


