
इलाम, २७ असार । केही वर्षअघिसम्म चुलाचुली गाउँपालिका–४ का अशोक राईका लागि मकै घरायसी उपभोगका लागि मात्र उत्पादन हुने बाली थियो। अहिले भने गाउँपालिकाको अनुदान, उन्नत बीउ र प्राविधिक सहयोग पाएपछि उहाँले आठ कट्ठा जमिनमा व्यावसायिक मकैखेती गर्दै आम्दानी गर्न थाल्नुभएको छ।
“पहिला घरखर्चका लागि मात्रै मकै लगाउँथ्यौँ,” उहाँ भन्नुहुन्छ, “गाउँपालिकाले उन्नत जातको बीउ र प्राविधिक सहयोग गरेपछि व्यावसायिक खेती सुरु गरियो। अहिले उत्पादन पनि बढेको छ र आम्दानी पनि भइरहेको छ।”
अशोक राईजस्तै चुलाचुली गाउँपालिकाका सयौँ किसान अहिले मकैखेतीबाट राम्रो आम्दानी गर्न थालेका छन्। स्थानीय सरकारले सञ्चालन गरेको कृषि जोन कार्यक्रमले किसानलाई अनुदान, प्राविधिक सेवा र बजारसँग जोडिदिएपछि गाउँपालिकामा व्यावसायिक मकैखेती विस्तार हुँदै गएको हो।
आर्थिक वर्ष २०८२/८३ मा गाउँपालिकाले ५० प्रतिशत लागत साझेदारीमा ‘टिएक्स–३६९’ जातको हाइब्रिड मकैको बीउ वितरण गरेको थियो। यस कार्यक्रमअन्तर्गत ७०० किसानलाई कुल ६ हजार ४५६ किलोग्राम बीउ वितरण गरिएको थियो। प्रत्येक किसानले बढीमा १६ किलोग्रामसम्म बीउ प्राप्त गरेका थिए।
गाउँपालिकाको कृषि विकास शाखाका प्रमुख सुवास दाहालका अनुसार वडा नं. १ देखि ६ सम्मका किसानलाई रु ४१ लाख ९६ हजार ४०० बराबरको बीउ वितरण गरिएको हो। यसमध्ये रु २० लाख ९८ हजार २०० गाउँपालिकाले अनुदान दिएको थियो भने बाँकी रकम किसानले लागत साझेदारी गरेका थिए।
उहाँका अनुसार अहिले चुलाचुलीमा १०७ हेक्टर क्षेत्रफलमा व्यावसायिक मकैखेती भइरहेको छ। यहाँबाट वार्षिक करिब २४२ मेट्रिक टन मकै उत्पादन हुने गरेको छ।
“बीउ वितरण मात्र होइन, किसानलाई प्राविधिक परामर्श, तालिम, कृषि सामग्री तथा यान्त्रीकरणमा पनि सहयोग गरिरहेका छौँ,” दाहालले भन्नुभयो, “यसले उत्पादन लागत घटेको छ भने उत्पादकत्व पनि बढेको छ।”
चुलाचुली–४ का किसान टिके बुङक्षेन राईका अनुसार अहिले मकैखेती नै परिवारको मुख्य आयस्रोत बनेको छ।
“मकै बिक्रीबाट आएको आम्दानीले घरखर्च चलाउन र छोराछोरीको पढाइमा ठूलो सहयोग पुगेको छ,” उहाँ भन्नुहुन्छ, “अन्य बालीभन्दा मकैमा लगानीअनुसार राम्रो प्रतिफल पाइन्छ।”
व्यावसायिक खेती विस्तारसँगै गाउँपालिकाका धेरै बाँझो जमिन पुनः खेतीयोग्य बनेका छन्। गाउँका बारीहरू अहिले लहलहाएका मकैबालीले भरिएका छन् भने कतिपय किसानले मकै भित्र्याउनसमेत सुरु गरिसकेका छन्।
मकैखेती विस्तारसँगै गाउँमा रोजगारीका अवसर पनि बढेका छन्। खेतबारीमा श्रमिकको माग बढ्नुका साथै वैदेशिक रोजगारीबाट फर्किएका केही युवाले पनि कृषि व्यवसाय रोज्न थालेका छन्।
उत्पादन बढे पनि बजारको समस्या नरहेको किसानहरू बताउँछन्। किसान उपेन्द्र पौड्यालका अनुसार व्यापारीहरू गाउँमै पुगेर मकै खरिद गर्ने भएकाले बिक्रीमा कुनै कठिनाइ छैन।
“यहाँ उत्पादन भएको मकै घरबाटै बिक्री हुन्छ,” उहाँले भन्नुभयो, “झापा, मोरङ र सुनसरीका बजारमा यसको राम्रो माग छ।”
पशुपालन व्यवसाय विस्तारसँगै दाना उद्योगमा मकैको माग बढिरहेको छ। बजार सुनिश्चित भएपछि किसानको व्यावसायिक खेतीप्रतिको आकर्षण पनि बढ्दै गएको छ।
किसान सञ्जीव मगरका अनुसार पहिले वर्षभरि खान पुग्ने अन्न उत्पादन गर्ने उद्देश्यले मात्रै मकै लगाइन्थ्यो। “अहिले बजारको मागअनुसार खेती विस्तार गरेका छौँ,” उहाँले भन्नुभयो, “आम्दानी सुनिश्चित भएपछि खेतीप्रतिको सोच नै बदलिएको छ।”
कृषि प्राविधिकहरूका अनुसार चुलाचुलीको हावापानी, उर्वर माटो र पर्याप्त वर्षा मकैखेतीका लागि अनुकूल छ। मकै समुद्री सतहदेखि करिब १३ हजार फिटसम्म खेती गर्न सकिने बाली हो। २१ देखि २७ डिग्री सेल्सियस तापक्रम र पानी नजम्ने मलिलो दुमट माटो यसको उत्पादनका लागि उपयुक्त मानिन्छ।
नेपालको दोस्रो प्रमुख खाद्यान्न बालीका रूपमा रहेको मकैको प्रयोग पछिल्ला वर्षमा विविध परिकारमा बढ्दै गएको छ। परम्परागत रूपमा ढिँडो, रोटी र भुटेको मकैका साथै केक, कुकिज, चिप्सलगायतका खाद्य पदार्थमा पनि यसको प्रयोग बढेको छ। पोषणका दृष्टिले पनि मकैलाई महत्वपूर्ण खाद्यान्न मानिन्छ। यसमा पाइने फाइबर, फोलिक एसिड, म्याग्नेसियम, आइरन र फस्फोरसजस्ता पोषक तत्वले पाचन प्रणाली, मुटु तथा हड्डीको स्वास्थ्यमा सहयोग पुग्ने कृषि प्राविधिकहरूको भनाइ छ।
मकैखेतीसँगै चुलाचुली गाउँपालिकाले सिमलतरुल, आलु, अदुवा, बेसार, तरकारी तथा फलफूल खेतीको प्रवर्द्धनलाई पनि प्राथमिकतामा राखेको छ। किसानलाई बीउबिजन, सिँचाइ सुविधा, कृषि औजार तथा आधुनिक प्रविधिको प्रयोगमा प्रोत्साहन गरिँदै आएको छ।
राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत चुलाचुली–२ मा रु ६ लाखको आलु पकेट कार्यक्रम तथा वडा नं. १ र ५ मा रु १२ लाखको अदुवा–बेसार पकेट विकास कार्यक्रम सञ्चालन गरिएको छ। साथै ५० प्रतिशत लागत साझेदारीमा रु ८ लाख बराबरका कृषि सामग्री तथा यान्त्रीकरणका उपकरण पनि वितरण गरिएको कृषि विकास शाखाले जनाएको छ।
गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङले कृषि क्षेत्रलाई स्थानीय विकासको मुख्य आधारका रूपमा अघि बढाइने बताउनुभयो। उहाँका अनुसार किसानको आयआर्जन वृद्धि, उत्पादन विस्तार र स्थानीय अर्थतन्त्रलाई सुदृढ बनाउने लक्ष्यसहित कृषि अनुदान तथा प्राविधिक सहयोगलाई आगामी दिनमा अझ प्रभावकारी बनाइनेछ।
अनुदान, आधुनिक प्रविधि, सुनिश्चित बजार र किसानको बढ्दो आत्मविश्वासले चुलाचुलीमा व्यावसायिक मकैखेतीलाई नयाँ उचाइमा पुर्याएको छ। परम्परागत निर्वाहमुखी खेतीबाट व्यवसायमुखी कृषितर्फको परिवर्तनले गाउँपालिकाको कृषि क्षेत्रमा नयाँ सम्भावनाको ढोका खोल्दै गएको छ।


