
झापा, २९ असार । कोशी प्रदेश प्रहरीको लागू औषधविरुद्धको महाअभियानअन्तर्गत विभिन्न जिल्लामा सञ्चालन गरिएको कारबाहीमा लागू औषध कारोबारमा संलग्न ५ जनालाई पक्राउ गरिएको छ। उनीहरूको साथबाट ५ किलो १०५ ग्राम गाँजा तथा १०७ ग्राम ६०५ मिलिग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ।
कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार लागू औषधमुक्त समाज निर्माण गर्ने उद्देश्यले सञ्चालन गरिएको अभियानअन्तर्गत लागू औषध कारोबारीलाई कानुनी दायरामा ल्याउने, मनोपरामर्श तथा जनचेतनामूलक कार्यक्रमसमेत सञ्चालन भइरहेको छ।
झापाको दमक नगरपालिका–६ बाट इलाका प्रहरी कार्यालय दमकको टोलीले गौरादह नगरपालिका–१ का २६ वर्षीय विशाल राई र उमेश राजवंशीलाई पक्राउ गरेको हो। उनीहरूको साथबाट ५६० मिलिग्राम ब्राउन सुगर तथा प्रदेश १–०१–०१८ प ७७०७ नम्बरको मोटरसाइकल बरामद गरिएको प्रहरीले जनाएको छ।
यस्तै, जिल्ला प्रहरी कार्यालय संखुवासभाले खाँदबारी नगरपालिका–५ का ७० वर्षीय भीमबहादुर तामाङलाई आफ्नै घरमा लुकाइछिपाइ राखिएको ५ किलो १०५ ग्राम गाँजासहित पक्राउ गरेको छ।
त्यसैगरी, विशेष सूचनाको आधारमा लागू औषध नियन्त्रण ब्युरो विराटनगर र इलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको संयुक्त प्रहरी टोलीले सुनसरीको दुहबी नगरपालिका–४ मालहट्टीबाट मोरङको धनपालथान गाउँपालिका–१ का २५ वर्षीय जमालउद्दीन मिया र २५ वर्षीय इमदाद मियालाई १०७ ग्राम ४५ मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो। उक्त कारबाही असार २८ गते गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका सबै व्यक्तिमाथि लागू औषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरीले जनाएको छ।


