
झापा, ३० असार । झापाको दमकबाट चोरी भएका विभिन्न कम्पनीका सात थान मोबाइलसहित चोरीमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार असार २७ गते साँझ करिब ६ बजे दमक नगरपालिका–६ स्थित सब्जी बजारमा रहेको एक मोबाइल पसलमा चार्जमा राखिएको सामसुङ एफ०७ मोडेलको मोबाइल चोरी भएको थियो । घटनापछि प्रहरीले अनुसन्धान तीव्र बनाउँदै चोरीमा संलग्न व्यक्तिको खोजतलास गरेको थियो ।
अनुसन्धानका क्रममा दमक नगरपालिका–२ का ३५ वर्षीय पुष्कर पोखरेललाई असार २८ गते आफ्नै घरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका पोखरेलको घरमा खानतलासी गर्दा विभिन्न मितिमा चोरी गरी लुकाइराखिएका सात थान मोबाइल बरामद गरिएको छ । प्रहरीले सामसुङ एफ०७ एक थान, रेडमी १४सी चार थान र भिभो दुई गरी सात थान मोबाइल बरामद गरेको हो ।
प्रहरीले पक्राउ परेका पोखरेलविरुद्ध झापा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिएर चोरी कसुरमा थप अनुसन्धान अघि बढाएको जनाएको छ ।


