
बालकलाई फकाएर सुनको कुण्डल लुट्ने दुई जना पक्राउ
झापा, ३० असार । झापाको कनकाई नगरपालिका–३ मा एक बालकलाई फकाएर कानमा लगाएको सुनको कुण्डल लुट्ने घटनामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय सुरुङ्गाका अनुसार असार २४ गते साँझ करिब ६ बजे कनकाई–३ निवासी जय राम श्रेष्ठका ९ वर्षीय छोरा प्रजन श्रेष्ठ घर नजिकै खेलिरहेका बेला दुई जना अपरिचित व्यक्तिले फकाएर उनले लगाएको करिब दुई आनी बराबरको सुनको कुण्डल दुई थान लुटेर फरार भएका थिए ।
घटनापछि बालकका बुवा जय राम श्रेष्ठले असार २५ गते दिउँसो इलाका प्रहरी कार्यालय सुरुङ्गामा लिखित उजुरी दिएका थिए ।
उजुरी प्राप्त हुनासाथ प्रहरी निरीक्षक रबि राईको नेतृत्वमा खटिएको टोलीले सिसिटिभी फुटेज तथा अन्य अनुसन्धानका आधारमा घटनामा कनकाई नगरपालिका–५ बेनुवाजा टोलकी ३६ वर्षीया बिमला पाँचकोटी र उनका बहिनी ज्वाइँ शिवसताक्षी नगरपालिका–९ निवासी ३० वर्षीय बिर्जु भन्ने विजय दर्जी संलग्न रहेको पहिचान गरेको थियो ।
प्रहरीले असार २५ गते राति बिमला पाँचकोटीलाई उनकै घरबाट नियन्त्रणमा लिएको थियो। तर, लुटिएको सुन उनको साथबाट बरामद हुन सकेको थिएन। त्यसपछि फरार रहेका विजय दर्जीको खोजी जारी राखिएको थियो।
प्रहरीले असार २७ गते बिहान करिब ८:३० बजे कनकाई नगरपालिका–३ स्थित कृषि बजार क्षेत्रबाट फरार रहेका विजय दर्जीलाई पक्राउ गरेको जनाएको छ। दुवै जनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय अनारमनीमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


