
झापा, ३१ असार । देशभर हालसम्म करिब ५० प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ। कृषि विभागका अनुसार यस वर्ष १३ लाख ७० हजार हेक्टर क्षेत्रफलमा धान रोप्ने लक्ष्य रहेकामा हालसम्म ६ लाख ८२ हजार हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको छ।
विभागका महानिर्देशक राजेन्द्र कोइरालाले गत वर्ष यही अवधिसम्म करिब ६० प्रतिशत रोपाइँ सम्पन्न भएको भए पनि यस वर्ष हालसम्म ५० प्रतिशत मात्रै रोपाइँ भएको जानकारी दिनुभयो।
प्रदेशगत रूपमा सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा ८७ प्रतिशत रोपाइँ सम्पन्न भएको छ। त्यसपछि गण्डकीमा ६५.९ प्रतिशत, कर्णालीमा ६० प्रतिशत, लुम्बिनीमा ५९ प्रतिशत र बागमतीमा ५७.१ प्रतिशत रोपाइँ भएको विभागले जनाएको छ।
यता, कोशी प्रदेशमा ३२ प्रतिशत र मधेस प्रदेशमा ३२.७ प्रतिशत मात्रै रोपाइँ सम्पन्न भएकाले यी दुई प्रदेशमा रोपाइँको गति अपेक्षाकृत सुस्त देखिएको छ।
देशका अधिकांश क्षेत्रमा वर्षा भइरहेकाले आगामी एक साताभित्र धान रोपाइँको दर उल्लेख्य रूपमा बढ्ने कृषि विभागको अपेक्षा छ। बाढी, पहिरो वा अन्य प्राकृतिक विपद् नआएमा रोपाइँ अझ तीव्र हुने विभागले जनाएको छ।


