
झापा, ३२ असार । लगातारको वर्षासँगै सप्तकोसी नदीमा पानीको बहाव बढ्ने क्रम जारी रहेको छ। बुधबार अबेरसम्म कोशी ब्यारेजमा पानीको बहाव एक लाख ६३ हजार २३० क्युसेक पुगेको सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए।
पूर्वी नेपालमा वर्षा जारी रहेकाले आगामी दिनमा नदीको बहाव अझै बढ्न सक्ने अनुमान गरिएको छ। बढ्दो बहावलाई मध्यनजर गर्दै कोशी ब्यारेजका ५६ वटा ढोकामध्ये २१ वटा ढोका खोलिएको छ। ब्यारेजमा ५२ वटा मुख्य ढोका र चार वटा नहरका ढोका गरी कुल ५६ वटा ढोका रहेका छन्।
कोशी ब्यारेज नियन्त्रण कक्षका अनुसार नदीमा पानीको बहाव एक लाख ५० हजार क्युसेक नाघेपछि जोखिमको संकेतस्वरूप ब्यारेज क्षेत्रमा रातो बत्ती बाल्ने र रातो झण्डा फहराउने व्यवस्था गरिएको छ।
सप्तकोसी वर्षायाममा सबैभन्दा बढी जोखिमपूर्ण नदीमध्ये एक मानिन्छ। असार, साउन र भदौ महिनामा पूर्वी पहाडी तथा तराई क्षेत्रमा हुने लगातारको वर्षाका कारण नदीको सतह बढ्ने, आसपासका बस्तीमा डुबान तथा कटानको जोखिम बढ्ने गर्छ। त्यसैले नदी आसपासका बासिन्दालाई सतर्क रहन सम्बन्धित निकायले आग्रह गरेका छन्।
सप्तकोसी सात प्रमुख नदी—तमोर, अरुण, सुनकोसी, दूधकोसी, तामाकोसी, भोटेकोसी र इन्द्रावती—को संगमबाट बनेको नदी हो। वर्षायाममा विशाल जलराशि बोकेर बग्ने यो नदी सुख्खा मौसममा भने धेरै स्थानमा बालुवाले भरिएको देखिन्छ।


