
खोटाङ, ३२ असार । जिल्ला कारागार खोटाङमा कैद भुक्तान गरिरहेका एक कैदी मृत भेटिएका छन् ।
कारागार प्रशासनका अनुसार खोटाङको साकेला गाउँपालिका–४ मात्तिम पारुङ निवासी निशान राई बुधबार मध्यराति आफ्नै सुत्ने स्थानमा अचेत अवस्थामा फेला परेका थिए । उनलाई तत्काल जिल्ला अस्पताल दिक्तेल लगिए पनि अस्पताल पुग्नुअघि नै मृत्यु भइसकेको चिकित्सकले पुष्टि गरेका छन् ।
जिल्ला कारागारका सूचना अधिकारी कपिन्द्र कठायतका अनुसार राई असार ३० गते बेलुकाको खाना खाएर सुतेका थिए । मध्यराति अचेत अवस्थामा भेटिएपछि उपचारका लागि अस्पताल लगिएको थियो ।
जिल्ला अस्पताल दिक्तेलका डा पुष्कल राईका अनुसार अस्पताल ल्याउँदा नै निशान राईको मृत्यु भइसकेको थियो । सवारी ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका राईको मृत्युको कारण भने अझै खुलेको छैन। घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


