
झापा, १ साउन । झापाको कचनकवल गाउँपालिका–४ हरियाली झोडाबाट ब्राउन सुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय केचनाबाट प्रहरी नायब निरीक्षक प्रकाशकुमार कार्कीको कमाण्डमा खटिएको प्रहरी टोलीले बिहीबार राति ९ः४० बजे शंकास्पद रूपमा हिँडिरहेका दुई जनालाई जाँच गर्ने क्रममा उनीहरूको साथबाट ब्राउन सुगर जस्तो देखिने खैरो लिसाइलो पदार्थ बरामद गरेको हो ।
पक्राउ पर्नेमा कचनकवल गाउँपालिका–२ संगीत चोकका ३२ वर्षीय विशाल गाईने र सोही स्थानका २३ वर्षीय सिद्धार्थ गाईने रहेका छन् । प्रहरीका अनुसार कालो प्लास्टिकमा लुकाई–छिपाई राखिएको दुई वटा सानो पोका बरामद गरिएको थियो । तौल गर्दा प्लास्टिकसहित ४०० मिलिग्राम र प्लास्टिक बाहेक १८० मिलिग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थ फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
दुवै जनालाई नियन्त्रणमा लिई लागू औषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


