
झापा, १ साउन । पछिल्ला तीन महिनामा देशभर तीन हजार २९६ वटा विपद्का घटना हुँदा १६० जनाको मृत्यु भएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वैशाख १ देखि असार ३२ गतेसम्म भएका विभिन्न विपद्का घटनामा दुई जना बेपत्ता, ९४५ जना घाइते तथा चार हजार ३७५ परिवार प्रभावित भएका छन्।
प्राधिकरणका अनुसार सबैभन्दा बढी ८९७ वटा आगलागीका घटना भएका छन्। ती घटनामा १७ जनाको मृत्यु, १०९ जना घाइते तथा ९९० परिवार प्रभावित भएका छन्।
यस अवधिमा सर्पदंशका ५१४ घटनामा ३८ जनाको मृत्यु, ४७९ जना घाइते तथा ५१७ परिवार प्रभावित भएका छन्। त्यस्तै, ४७७ वटा हुरीका घटनामा १३ जनाको मृत्यु, ६८ जना घाइते तथा एक हजार ३५६ परिवार प्रभावित भएका छन्।
पहिरोका ४३३ घटनामा १२ जनाको मृत्यु, १५ जना घाइते तथा ३५१ परिवार प्रभावित भएका छन् भने चट्याङका २२३ घटनामा २४ जनाको मृत्यु, १२० जना घाइते र २६२ परिवार प्रभावित भएका छन्।
वन्यजन्तुको आक्रमणका १८१ घटनामा १७ जनाको मृत्यु, १०३ जना घाइते तथा २८७ परिवार प्रभावित भएका छन्। बाढीका १६१ घटनामा नौ जनाको मृत्यु, दुई जना बेपत्ता, नौ जना घाइते तथा ३९६ परिवार प्रभावित भएका छन्।
भारी वर्षाका १५३ घटनामा चार जनाको मृत्यु, एक जना घाइते तथा १३२ परिवार प्रभावित भएका छन्। त्यस्तै, लेक लाग्ने (उच्च हिमाली क्षेत्रमा हुने स्वास्थ्य समस्या) का ५५ घटनामा २१ जनाको मृत्यु भएको छ भने ३५ जना अझै अस्वस्थ रहेका छन्।
ढुङ्गा खसेर भएको एक घटनामा दुई जनाको मृत्यु भएको छ। यस्तै, वन डढेलोका १९१ घटनामा एक जनाको मृत्यु र दुई जना घाइते भएका छन् भने हिउँपहिरोका दुई घटनामा एक जनाको मृत्यु र एक जना घाइते भएका छन्।


