
झापा, १ साउन । झापाको मेचीनगरबाट लागूऔषध ब्राउन सुगरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय काँकरभिट्टाको संयुक्त टोलीले शुक्रबार (२०८३ साउन १ गते) दिउँसो १२:३० बजे मेचीनगर नगरपालिका–६ स्थित पुरानो मेची पुल क्षेत्रमा चेकजाँचका क्रममा मेचीनगर–६ का ४५ वर्षीय अवित राईलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार भारतको पानीट्याङ्कीबाट नेपालतर्फ भाडाको सिटी सफारीमा आउँदै गरेका राईमाथि शंका लागेपछि शरीर तथा साथमा रहेको सामान खानतलासी गर्दा पहेँलो प्लास्टिकको पोकाभित्र लुकाइराखिएको ब्राउन सुगरजस्तो देखिने पदार्थ फेला परेको थियो ।
बरामद गरिएको पदार्थको तौल गर्दा प्लास्टिकसहित ४ ग्राम १२० मिलिग्राम र प्लास्टिकबाहेक ३ ग्राम ११० मिलिग्राम रहेको प्रहरीले जनाएको छ । लागूऔषधसहित पक्राउ परेका राईलाई नियन्त्रणमा लिई घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


