
झापा, २ साउन । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको केन्द्रीय प्रचार तथा प्रकाशन विभागद्वारा विकसित नयाँ वेबसाइट र मोबाइल एप सार्वजनिक गर्नुभएको छ ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा शुक्रबार आयोजित कार्यक्रममा अध्यक्ष ओलीले सूचना प्रविधिको प्रभाव बढ्दै गइरहेका बेला सत्यलाई तोडमरोड गरी भ्रम फैलाउने प्रवृत्ति बढेको भन्दै चिन्ता व्यक्त गर्नुभयो । उहाँले कालोलाई सेतो र सुल्टोलाई उल्टो बनाएर गलत सूचना फैलाउने प्रवृत्ति तत्कालीन राजनीतिक विषय मात्र नभई सामाजिक संस्कृति र सभ्यताको संरक्षणसँग समेत जोडिएको रणनीतिक चुनौती भएको बताउनुभयो ।
अध्यक्ष ओलीले सूचना प्रविधि (आईटी) को प्रतिस्पर्धामा पार्टी केही पछि परेको स्वीकार गर्दै अब आफ्ना कमजोरी सुधार गर्दै डिजिटल माध्यममा थप प्रभावकारी रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा एमालेका महासचिव शङ्कर पोखरेलले युवा पुस्तालाई सूचना प्रविधिको प्रभावकारी प्रयोगमार्फत पार्टीको सही वैचारिक धारसँग जोड्न आवश्यक रहेको बताउनुभयो ।
केन्द्रीय प्रचार तथा प्रकाशन विभागद्वारा आयोजित कार्यक्रममा विभाग प्रमुख नीरज आचार्यले नयाँ वेबसाइट र एपका विशेषता तथा नवीन संस्करणबारे जानकारी गराउनुभएको थियो ।


