
बिर्तामोड, २ साउन । कोशी प्रदेशसभा सदस्य तथा नेपाली कम्युनिस्ट पार्टी संसदीय दलका नेता इन्द्र आङ्बो (मौसम) ले वर्तमान सरकारले संविधानमाथि नै प्रहार गर्ने खतरा बढेको आरोप लगाएका छन्।
बिर्तामोडमा आयोजित नेपाली कम्युनिस्ट पार्टीको एकीकरण बैठक, प्रशिक्षण तथा सपथग्रहण कार्यक्रममा बोल्दै नेता आङ्बोले सरकार संविधानको मर्मविपरीत अघि बढ्न खोजिरहेको दाबी गरे।
उनले सरकारको नेतृत्व गरिरहेको दलको पहिलो महाधिवेशनमै प्रदेश संरचना खारेज गर्ने प्रस्ताव आएको उल्लेख गर्दै त्यसले संविधानमाथिको हस्तक्षेपको संकेत गरेको बताए। संवैधानिक निकायमा आफूअनुकूल नियुक्ति गर्ने, संघीय संसदका दुवै सदनमा बहुमत पुर्याएर संविधान संशोधनमार्फत जनयुद्ध र जनआन्दोलनबाट प्राप्त उपलब्धि समाप्त पार्ने तयारी भइरहेको उनको आरोप थियो।
आङ्बोले संविधान र लोकतान्त्रिक उपलब्धिको रक्षा गर्न सम्पूर्ण जनता एकजुट हुनुपर्ने आवश्यकता औंल्याए।
उनले दुईतिहाइ नजिकको बहुमतसहित सरकार सञ्चालन गरिरहेको दलले जनतालाई राहत दिनुको सट्टा स्वास्थ्य, शिक्षा र विद्युत् जस्ता अत्यावश्यक क्षेत्रमा करको भार थपेर नागरिकमाथि आर्थिक बोझ बढाएको आरोप पनि लगाए।
कार्यक्रममा तत्कालीन नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नागरिक उन्मुक्ति पार्टी, जनता समाजवादी पार्टीलगायत विभिन्न राजनीतिक शक्तिहरू एकीकृत भई नेपाली कम्युनिस्ट पार्टी गठन भएपछि देशभर एकता बैठक सञ्चालन भइरहेको जानकारी दिइयो।
सोही अवसरमा झापामा खड्ग तिम्सिना (पवन) को संयोजकत्वमा ७९९ सदस्यीय संयोजन समिति गठन गरिएको घोषणा गरिएको थियो। नवगठित समितिका सदस्यहरूलाई सपथ ग्रहण प्रदेश सह इन्चार्ज सावित्रीकुमार काफ्ले समरले गराएका थिए।
कार्यक्रममा पार्टीका प्रदेश इन्चार्ज तथा पूर्वमुख्यमन्त्री राजेन्द्र राई, प्रदेश सहइन्चार्जद्वय सावित्रीकुमार काफ्ले (समर) र पर्शुराम बस्नेत ले पनि सम्बोधन गरेका थिए। कार्यक्रमको सञ्चालन झापा सहसंयोजक बीपी भट्टराई ले गरेका थिए भने स्वागत मन्तव्य सहसंयोजक रोम घिमिरे ले राखेका थिए।


