
झापा, ४ साउन । धान रोपाइँको मुख्य सिजन चलिरहेका बेला झापामा रासायनिक मलको अभाव देखिएको छ। आवश्यक परिमाणको एक चौथाइभन्दा कम मात्र मल उपलब्ध भएपछि यस वर्ष धान उत्पादनमा प्रत्यक्ष असर पर्ने चिन्ता किसानहरूले व्यक्त गरेका छन्।
कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टका अनुसार जिल्लामा धानबालीका लागि १३ देखि १४ हजार मेट्रिकटन युरिया आवश्यक पर्नेमा हालसम्म करिब दुई हजार ४०० मेट्रिकटन मात्र आपूर्ति भएको छ।
त्यसैगरी, करिब आठ हजार मेट्रिकटन डिएपी आवश्यक रहेकामा हालसम्म दुई हजार ५०० मेट्रिकटन मात्रै उपलब्ध भएको छ।
“धानबालीको मुख्य समयमा आवश्यक परिमाणमा रासायनिक मल उपलब्ध हुन नसक्दा किसानले समयमा मल हाल्न पाएका छैनन्। यसले बोटको वृद्धि र उत्पादन दुवैमा असर पार्ने जोखिम बढाएको छ,” प्रमुख विष्टले बताए।
उनका अनुसार मल अभावकै कारण धेरै किसानले जैविक (अर्गानिक) मल प्रयोग गरेर रोपाइँलाई निरन्तरता दिएका छन्। पछिल्ला वर्षहरूमा जैविक मलप्रति किसानको आकर्षण बढ्दै गए पनि यसको प्रभाव देखिन केही समय लाग्ने भएकाले तत्काल उत्पादनका लागि किसान अझै पनि रासायनिक मलमै बढी निर्भर छन्।
गौरादह–५ का किसान राजेन्द्र अधिकारीले रोपाइँ सम्पन्न भए पनि मल अभावले खेतको हरियाली जोगाउने चिन्ता बढेको बताए। “समयमै मल नपाए उत्पादन घट्ने डर सबै किसानमा छ,” उनले भने।
किसान मिना राजवंशीले पनि सरकारले समयमै मलको व्यवस्था गर्नुपर्नेमा जोड दिइन्। “बीउ, श्रम र सिँचाइमा ठूलो लगानी गरिसकेका छौँ। अहिले मल नपाउँदा सबै मेहनत खेर जाने हो कि भन्ने चिन्ता लागेको छ,” उनले भनिन्।
हालसम्म झापामा ६१.८ प्रतिशत क्षेत्रमा धान रोपाइँ सम्पन्न भइसकेको छ। किसानहरूले तत्काल पर्याप्त परिमाणमा रासायनिक मल आपूर्ति गर्न, वितरण प्रणालीलाई सहज बनाउन तथा वैकल्पिक मलको प्रयोगलाई थप प्रभावकारी बनाउन सरकारसँग माग गरेका छन्।


