
इलाम, ५ साउन । इलामको सूर्योदय नगरपालिका–१० निवासी मुकेश गुरुङले अन्तर्राष्ट्रिय स्तरमा आयोजित ६औँ हिमालयन इन्टरनेशनल अवार्ड २०२६ मा सर्वोत्कृष्ट म्युजिक भिडियो मोडल अवार्ड जितेका छन्।
सिक्किमको राभाङ्लास्थित कम्युनिटी हलमा सम्पन्न अवार्ड समारोहमा गुरुङले चर्चित गीत ‘परान’को म्युजिक भिडियोमा गरेको उत्कृष्ट अभिनयका लागि यो प्रतिष्ठित सम्मान प्राप्त गरेका हुन्।
सांगीतिक क्षेत्रमा निरन्तर सक्रिय गुरुङले आफ्नो मेहनत, समर्पण र कलाप्रतिको प्रतिबद्धताका कारण अन्तर्राष्ट्रिय मञ्चमा नेपाली कलाकारको पहिचान स्थापित गर्न सफल भएको बताइएको छ। ‘परान’ गीतको भिडियोमा उनको प्रभावशाली अभिनयले दर्शक र निर्णायक दुवैको मन जित्दै उनलाई यस वर्षको सर्वोत्कृष्ट म्युजिक भिडियो मोडलको उपाधि दिलाएको हो।
उनको यो उपलब्धिले व्यक्तिगत सफलतासँगै इलाम र नेपालको कला तथा सांस्कृतिक क्षेत्रलाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाउने अवसरसमेत सिर्जना गरेको छ। विशेषगरी ग्रामीण क्षेत्रबाट कला क्षेत्रमा स्थापित हुन प्रयासरत युवाका लागि गुरुङ प्रेरणादायी व्यक्तित्वका रूपमा स्थापित भएका छन्।
अवार्ड प्राप्त गरेपछि गुरुङलाई शुभेच्छुक, स्थानीयवासी, कलाकार तथा विभिन्न संघ–संस्थाबाट बधाई तथा शुभकामना व्यक्त गरिएको छ। आगामी दिनमा पनि नेपाली संगीत र अभिनय क्षेत्रमार्फत अन्तर्राष्ट्रिय स्तरमा नेपालको नाम अझ उँचो बनाउने विश्वास व्यक्त गरिएको छ।


