
भद्रपुर, १० साउन । झापामा एक वर्षमा ६०१ जनामा डेङ्गु सङ्क्रमण भएको छ ।
आर्थिक वर्ष २०८२/०८३ को एक वर्षको अवधिमा ६०१ जनामा डेंगु संक्रमण देखिएको हो । डेङ्गु सङ्क्रमणको दर पछिल्लो समय उल्लेख्य रूपमा घटेको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार आर्थिक वर्ष २०८१/८२ मा जिल्लाभर दुई हजार जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएका थिए ।
स्वास्थ्य कार्यालयका प्रमुख व्रिजकुमार दासका अनुसार डेङ्गु सार्ने एडिस जातको लामखुट्टेले सफा र जमेको पानीमा प्रजनन गर्ने भएकाले यसको नियन्त्रणका लागि जिल्लाका १५ वटै स्थानीय तहमा प्रत्येक वर्ष ‘लामखुट्टेको बासस्थान खोज र नष्ट गर’ अभियान सञ्चालन गरिँदै आएको छ।
उहाँका अनुसार स्थानीय तहसँगको समन्वयमा सञ्चालन गरिएको अभियान, नियमित सरसफाइ तथा जनचेतनामूलक कार्यक्रमका कारण डेङ्गु सङ्क्रमण नियन्त्रणमा सकारात्मक परिणाम देखिएको छ। स्वास्थ्य कार्यालयले पानी जम्न नदिने, घर तथा वरपरको वातावरण सफा राख्ने र लामखुट्टेको बासस्थान नष्ट गर्न सबैलाई आग्रह गरेको छ।


