
झापा, ११ साउन । झापाको तीन वटा पालिकाका २८ परिवारलाई जग्गा धनीपुर्जा वितरण गरिएको छ ।
कनकाई नगरपालिकाका र बुद्धशान्ति गाउँपालिका ५/५, अर्जुनधाराका १८ गरी २८ परिवारलाई जग्गा धनीपुर्जा वितरण गरिएको हो । साउन ८ गते कनकाई नगरपालिका–३ का ५ जना अव्यवस्थित बसोबासी तथा भूमिहीन दलितलाई धनीपूर्जा वितरण गरिएको छ ।
झापा क्षेत्र नम्बर ४ का संघीय सांसद शम्भूप्रसाद ढकाल, झापाका प्रमुख जिल्ला अधिकारी एवम् भूमि समस्या समाधान समितिका अध्यक्ष शिवप्रसाद गेलाल, कनकाई नगरपालिकाकी उपप्रमुख आशाशर्मा शिवाकोटीले ४ जना अव्यवस्थित बसोबासी र १ जना भूमिहीन दलितलाई धनीपुर्जा प्रदान गर्नुभयो ।
सरकारले निर्धारण गरेको समयभित्रै झापाका सबै भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुलाई जग्गाधनीपुर्जा वितरण गरिसक्ने योजनाका साथ अगाडि बढिरहेको झापाका प्रमुख जिल्ला अधिकारी गेलालले बताउनुभयो ।
पुर्जा वितरणमा रहेका समस्याहरुलाई क्रमशः वडादेखि नगर, जिल्ला हुँदै केन्द्रसम्मा नै पु¥याएर समयसीमा ६०० दिनभित्रै सबै झापाबासीलाई धनीपुर्जा वितरण गरिछाड्ने योजनाका साथ भूमि समस्या समाधान समिति अगाडि बढिरहेको प्रमुख जिल्ला अधिकारी गेलालको भनाइ छ ।
कनकाई नगरपालिकामा ७ हजार २०७ वटा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बासोबासीको आवेदन परेको छ । जसमध्ये हालसम्म २४५ परिवारले मात्र हालसम्म जग्गाधनीपुर्जा प्राप्त गरेको कनकाई नगरपालिकाकी भूमि शाखा प्रमुख रमिता कट्टेलले जानकारी दिनुभयो ।
अर्जुनधाराका १८ परिवारलाई धनीपूर्जा
अर्जुनधारा नगरपालिकाका १८ भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनीपुर्जा वितरण गरिएको छ ।
साउन ७ गते नगरपालिकाको सभाहलमा आयोजित ‘जग्गा धनीपूर्जा वितरण कार्यक्रम’मा अर्जुनधारा–११ लक्ष्मीधापका १८ परिवारलाई जग्गा धनीपूर्जा वितरण गरिएको हो ।
कार्यक्रममा प्रमुख अथिति झापा क्षेत्र नं. २ की सासंद इन्दिरा रानामगर, झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, अर्जुनधारा नगरपालिकाका नगरप्रमुख बलदेवसिंह गोम्देन तामाङ, नगर उपप्रमुख खड्गमाया पराजुली लगायतले उनीहरुलाई जग्गा धनीपूर्जा वितरण गर्नुभएको थियो ।
पूर्व उपसभामुख समेत रहनुभएकी सांसद रानामगरले भूमिसँग मानिसको भावनात्मक सम्बन्ध रहने भएकाले भूमिको विशेष महत्व हुने बताउनुभयो । “जमिन भनेको आमा समान हुन्छ”, उहाँले भन्नुभयो, “आज धनीपूर्जा पाउनु हुनेले यसको संरक्षण सम्बद्र्धन गर्नुहोला ।”
अर्जुनधारा नगरपालिकाका नगरप्रमुख बलदेवसिंह गोम्देन तामाङले नगर क्षेत्रमा रहेको भूमि समस्या समाधानलाई पहिलो प्राथमिकतामा राखिएको बताउनुभयो । “हाम्रौ कार्यकालभित्र सबै भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई धनीपूर्जा वितरण गर्नेगरी लागेका छौं”, उहाँले भन्नुभयो ।
बिदामा पनि सेवा प्रवाह
अर्जुनधारा नगरपालिकाको भूमि व्यवस्थापन शाखाले हाल बिदाको दिनमा समेत सेवा प्रवाह गरिरहेको छ । कार्यालय समय ९ बजे भए पनि बिहान ७ बजेदेखि सेवा प्रवाह भइरहेको नगरप्रमुख तामाङले बताउनुभयो ।
“अतिरिक्त सेवा सुविधा बिना बिहान ७ बजेदेखि कर्मचारीहरुले सेवा दिइरहनुभएको छ”, उहाँले भन्नुभयो, “बिदाको दिनमा पनि उहाँहरुले सेवा दिइरहनुभएको छ ।”
कार्यक्रममा स्वागत गर्नुहुँदै उपप्रमुख खड्गमाया पराजुलीले राजस्व दर बढी भएकाले पनि कतिपय तयारी अवस्थामा रहेका धनीपूर्जा वितरण गर्न नसकिएको बताउनुभयो । नगरपालिकाले यसअघि १४४ वटा धनीपुर्जा वितरण गरिसकेको उहाँले बताउनुभयो ।
अर्जुनधारा–१ मा करिब एक सय २५ धनीपूर्जा वितरणको अवस्थामा रहेको नगरपालिकाका भूमि शाखा प्रमुख चुडामणि निरौलाले जानकारी दिनुभयो । अर्जुनधारा–२ का करिब ४२ परिवारलाई धनीपूर्जा वितरणका लागि अन्तिम अवस्थामा पुगेको उहाँले बताउनुभयो ।
अर्जुनधारा नगरपालिकामा भूमिहीन दलित दुई सय १२, भूमिहीन सुकुम्बासी सात सय २९ र अव्यवस्थित बसोबासी छ हजार तीन सय ५१ जना रहेको भूमि शाखा प्रमुख चुडामणि निरौलाले बताउनुभयो ।
बुद्धशान्ति गाउँपालिकामा समेत ५ घरपरिवारलाई जग्गा धनीपुर्जा वितरण गरिएको बुद्धशान्ति गाउँपालिकाका प्रवक्ता एवम् बुद्धशान्ति–१ का अध्यक्ष अनिल वाग्लेले जानकारी दिनुभयो ।


