
झापा, ११ साउन । कमल गाउँपालिका–५ र ६ को सीमावर्ती मङ्गलबारे बजार पूर्वस्थित काँटा चोक नजिकको गेउरिया खोलामा पक्की पुल निर्माण सम्पन्न भएपछि वर्षायाममा स्थानीयवासीले वर्षौंदेखि भोग्दै आएको आवागमनको समस्या अन्त्य भएको छ।
यसअघि उक्त स्थानमा रहेको होचो (कजवे) पुलबाट आवतजावत हुने गरे पनि बर्खायाममा खोलाको बहाव बढ्नेबित्तिकै पुल डुबानमा पर्ने गरेको थियो। त्यसका कारण सवारीसाधन सञ्चालन ठप्प हुने, स्थानीयवासीलाई दैनिक आवागमनमा सास्ती हुने, कृषि उपज ढुवानी गर्न कठिनाइ हुने, विद्यार्थीको विद्यालय आवतजावत प्रभावित हुने तथा बिरामीलाई अस्पताल पुर्याउनसमेत समस्या हुने गरेको थियो।
नवनिर्मित पक्की पुल सञ्चालनमा आएपछि साबिक तोपगाछी र लखनपुर क्षेत्रलाई जोड्ने कृषि सडक हुँदै दमकसम्मको यात्रा सहज, सुरक्षित र वर्षभर सञ्चालनयोग्य बनेको छ। यसबाट स्थानीय बासिन्दा, किसान, व्यवसायी तथा सर्वसाधारण प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्।
कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले पुल निर्माणसँगै स्थानीयवासीको दशकौँदेखिको समस्या समाधान भएको बताए। उनले पुलले साबिक तोपगाछी र लखनपुर क्षेत्रलाई जोड्नुका साथै दमकसम्मको पहुँच थप सहज बनाएको उल्लेख गर्दै अब वर्षायाममा आवागमन अवरुद्ध हुने अवस्थाको अन्त्य भएको बताए।
कोशी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयको १ करोड ३१ लाख ४६ हजार लागतमा निर्माण गरिएको उक्त पुलबाट सवारीसाधन सञ्चालन सुरु भइसकेको छ। पुलको मुख्य निर्माण कार्य सम्पन्न भए पनि रङरोगनलगायत केही अन्तिम सौन्दर्यीकरणका काम भने बाँकी रहेको जनाइएको छ।


