
झापा, १४ साउन । झापाका प्रशासनिक निकायहरूले आर्थिक वर्ष २०८२/८३ मा २४ हजारभन्दा बढी नागरिकता र सोही हाराहारीमा राहदानी वितरण गरेका छन्। जिल्ला प्रशासन कार्यालय तथा इलाका प्रशासन कार्यालय दमक र गौरीगञ्जबाट उक्त अवधिमा २४ हजार ८५१ जनाले नागरिकता र २४ हजार ४६६ जनाले राहदानी प्राप्त गरेका हुन्।
नागरिकता र राहदानी लिनेको संख्या लगभग बराबरी हुनु जिल्लाबाट वैदेशिक रोजगारी तथा उच्च शिक्षाका लागि विदेशिने युवाको आकर्षण अझै कायम रहेको संकेत मानिएको छ।
जिल्ला प्रशासनका अनुसार समीक्षा अवधिमा ३७८ जनाले आमाको नामबाट वंशजको नागरिकता प्राप्त गरेका छन्। यस्तै, ९७ हजार ४७७ जनाको राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन गरिएको छ भने ९८ हजार ६८९ वटा परिचयपत्र वितरण गरिएको छ।
राजस्वतर्फ राहदानी शुल्कबाट १४ करोड ७० लाख ७९ हजार ४५१ रुपैयाँ र अन्य प्रशासनिक शुल्कबाट ६० लाख ४४ हजार ६० रुपैयाँ संकलन भई कुल १५ करोड ३१ लाख २३ हजार ५११ रुपैयाँ राजस्व उठेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
त्यसैगरी, मिटरब्याज, नियामक निकाय तथा ठाडो उजुरीसम्बन्धी ४७९ वटा निवेदन फर्छ्योट गरिएको छ भने ९२९ जनालाई नाबालक परिचयपत्र वितरण गरिएको छ।
प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले सेवा प्रवाहलाई थप सहज र प्रविधिमैत्री बनाइएको बताउँदै सेवाग्राहीको प्रतिक्रिया लिन ‘सेवा सन्तुष्टि क्यूआर’ प्रणाली सञ्चालनमा ल्याइएको र सार्वजनिक सुनुवाइलाई निरन्तरता दिइएको जानकारी दिए।


