
झापा, १५ साउन । सरकारले हालसम्म असुल गरिएको शिक्षा तथा स्वास्थ्य समता शुल्क सम्बन्धित सेवाग्राहीलाई १५ दिनभित्र फिर्ता गर्न निर्देशन दिएको छ।
यससम्बन्धी सूचना बिहीबार नेपाल राजपत्रमा प्रकाशित गर्दै चालु आर्थिक वर्षको आर्थिक ऐनको दफा १८ को उपदफा (१) बमोजिम शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने व्यवस्था कार्यान्वयन गरिएको जनाएको हो।
अर्थ मन्त्रालयका सचिव डा घनश्याम उपाध्यायद्वारा जारी सूचनाअनुसार हालसम्म शिक्षा वा स्वास्थ्य समता शुल्क असुल गरेका व्यक्ति वा संस्थाले उक्त रकम १५ दिनभित्र सम्बन्धित भुक्तानीकर्तालाई फिर्ता गर्नुपर्नेछ।
सूचनामा तोकिएको अवधिभित्र रकम फिर्ता गर्न नसकिए त्यस्तो रकम सङ्घीय सञ्चित कोषमा दाखिला गर्नुपर्ने व्यवस्था गरिएको छ। यसअघि प्रधानमन्त्री वालेन्द्र शाहले साउन ५ गते शिक्षा र स्वास्थ्य समता शुल्क खारेज गर्ने घोषणा गर्नुभएको थियो। त्यसलगत्तै साउन ६ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त शुल्क खारेज गर्ने निर्णय गरेको थियो।


