झापा, १५ साउन । पूर्वी नाका काँकरभिट्टाबाट निर्यात हुने मुख्य १० वस्तुमध्ये अलैंची निर्यातमा वृद्धि भएको छ भने चिया निर्यातमा कमी आएको छ ।
आर्थिक वर्ष २०८२÷८३ मा अलैंची निर्यातमा ३९.२७% वृद्धि भएको छ भने चिया निर्यातमा १८.१२% ले कमी आएको छ । सो अवधिमा १२ अर्ब ६३ करोड ६९ लाख ७० हजार बराबरको ६३ लाख ८५ हजार ८७० केजी अलैंची निर्यात भएको छ । जुन अघिल्लो वर्षको तुलनामा ४ अर्ब ९६ करोड २९ लाख ३३ हजारले बढी हो ।

यता, आर्थिक वर्ष २०८२÷८३ मा ३ अर्ब ५२ करोड ९६ लाख ६९ हजार बराबरको १ करोड ३० लाख ४५ हजार ७९१ केजी चिया निर्यात भएको छ । आर्थिक वर्ष २०८१÷८२ मा ४ अर्ब १६ करोड ९३ लाख ९८ हजार रुपैयाँ बराबरको १ करोड ५३ लाख ११ हजार ५५ केजी चिया निर्यात भएको थियो ।



