
इलाम, २५ साउन । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा पहिरो खस्नुका साथै नदी तथा खोलाले सडक कटान गर्दा प्रमुख राजमार्ग र सडकखण्ड अवरुद्ध भएका छन्। सडक अवरुद्ध हुँदा विभिन्न क्षेत्रमा यातायात सेवा प्रभावित भएको छ।
प्रहरी प्रधान कार्यालयले आज बिहान ६ बजेसम्मको विवरण सार्वजनिक गर्दै काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, इलाम, रसुवा, रुकुम पश्चिम र लमजुङका विभिन्न सडकखण्डमा यातायात प्रभावित भएको जनाएको छ।
काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–९ पिन्थली, नार्केस्थित बीपी राजमार्गमा आज बिहान ४ बजे वर्षाका कारण माथिबाट लेदोसहितको पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।
यस्तै, खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी–सिन्धुली सडकखण्डमा सम्भावित बाढीको जोखिमलाई दृष्टिगत गरी साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधनको आवागमन रोकिएको छ। बिहान ४ बजेदेखि साँझ ६ बजेसम्म भने सवारीसाधन सञ्चालन गर्न दिइएको छ।
मकवानपुरको कान्ति लोकपथमा समेत वर्षाका कारण रातिको समयमा सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। उक्त सडकखण्डमा साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको प्रहरीले जनाएको छ।
इलाम नगरपालिका–९ राजदुवालीमा हिलो जमेकाले मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। प्रहरीले उक्त स्थानमा वैकल्पिक सडक प्रयोग गर्न यात्रुलाई आग्रह गरेको छ।
सिन्धुपाल्चोकको अरनिको राजमार्गअन्तर्गत भोटेकोशी गाउँपालिका–४ जिरोकिलोमा पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। भोटेकोशी–२ कोदारीस्थित इकु पहिरोका कारण पनि यातायात प्रभावित भएको छ। सोही गाउँपालिका–२ लिपिङमा सडक भासिएपछि अरनिको राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ।
यसैगरी, आज बिहान ५ बजे चौतारा साँगाचोकगढी नगरपालिका–९ डुम्रेमा पहिरो खसेपछि अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।
रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेमा त्रिशूली नदीले सडकको तल्लो भाग कटान गरेपछि त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी कच्ची सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।
रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–६ रिजेगार्ड खोलानजिक भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडकखण्ड पनि पहिरोका कारण अवरुद्ध भएको छ।
यस्तै, लमजुङको मध्यनेपाल नगरपालिका–१० बिमिरेभन्ज्याङ आसपास मध्यपहाडी लोकमार्गमा गएराति पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। प्रहरीले उक्त स्थानमा वैकल्पिक सडक प्रयोग गर्न यात्रुलाई आग्रह गरेको छ।
प्रहरी प्रधान कार्यालयका अनुसार अवरुद्ध सडक खुलाउन तथा यातायात सञ्चालनमा ल्याउन आवश्यक पहल भइरहेको छ। लगातार वर्षा भइरहेकाले थप पहिरो तथा बाढी आउन सक्ने सम्भावना रहेकाले सडकमा यात्रा गर्दा आवश्यक सावधानी अपनाउन प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ।


