
सन्तोष शर्मा
झापा, २५ साउन । झापाको बाहुनडाँगीसहित मानव–हात्ती द्वन्द्व प्रभावित क्षेत्रमा डिभिजन वन कार्यालयले सुरक्षा, उद्धार र पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउँदै लैजान विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ ।
बाहुनडाँगी क्षेत्रमा हाल सशस्त्र वन रक्षकको १५ सदस्यीय टोली सवारीसाधनसहित स्थायी रूपमा परिचालन गरिएको छ । वन रक्षकका लागि बाहुनडाँगीमै आवासको व्यवस्था गरिएको छ भने वन्यजन्तु बस्तीमा प्रवेश गरेको वा घाइते भएको सूचना प्राप्त हुनासाथ तत्काल उद्धार र पुनः वन क्षेत्रमा पुनस्र्थापना गर्न सवारीसाधन तयारी अवस्थामा राखिएको डिभिजन वन कार्यालय झापाका सूचना अधिकारी हिमाल पाठकले जानकारी दिनुभयो ।
भारतबाट आउने जंगली हात्तीलाई मानव बस्तीमा प्रवेश गर्न रोक्न सीमावर्ती क्षेत्रमा सोलार फेन्सिङ निर्माण तथा नियमित मर्मतसम्भारको काम भइरहेको कार्यालयले जनाएको छ । वन क्षेत्रमा हात्तीलगायत वन्यजन्तुको प्राकृतिक बासस्थान संरक्षणका लागि आहारा प्रजातिका फलफूलजन्य बिरुवा रोप्ने, संरक्षण पोखरी तथा आहाल निर्माण गर्ने कार्य पनि सञ्चालनमा रहेको छ ।
वन्यजन्तुको आक्रमणबाट घाइते वा मृत्यु भएका व्यक्ति तथा घर, गोठ, अन्नबाली र पशुधनमा क्षति पुगेका पीडितलाई प्रचलित कानुनअनुसार राहत वितरण गर्दै आएको कार्यालयले जनाएको छ । साथै, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय प्रकृति संरक्षण कोष तथा मातहतका सब–डिभिजन वन कार्यालयसँगको समन्वयमा प्रभावित क्षेत्रमा नियमित जनचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेको छ ।
आधुनिक प्रविधिबाट निगरानी गर्ने तयारी
डिभिजन वन कार्यालयले आगामी दिनमा मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि सोलार फेन्सिङ विस्तार र मर्मतलाई प्राथमिकतामा राखेको छ । हात्ती आवतजावत गर्ने संवेदनशील क्षेत्रमा आधुनिक साइरन, सेन्सर र पूर्वसूचना प्रणाली जडान गर्ने, स्थानीय तह र सुरक्षा निकायसँगको सहकार्यमा ¥यापिड रेस्पोन्स टिमलाई थप प्रभावकारी बनाउने योजना कार्यालयको छ ।
यस्तै, सामुदायिक वन क्षेत्रमा हात्तीका लागि आहारा प्रजातिका बिरुवा रोप्ने, राहत वितरण प्रक्रियालाई थप छिटो र प्रभावकारी बनाउने, वैकल्पिक खेती प्रवद्र्धन गर्ने तथा वन्यजन्तु उद्धारका लागि डार्ट गनसहित आवश्यक उपकरण र थप सशस्त्र वन रक्षकको व्यवस्था गर्न पहल गरिने जनाएको छ ।
कार्यालयले हात्तीको आवागमनको निगरानीका लागि प्रमुख प्रवेश नाकामा सीसीटीभी क्यामेरा जडान गरी सुविधा सम्पन्न कन्ट्रोल रुम स्थापना गर्ने तथा बाहुनडाँगी क्षेत्रमा स्थायी रेञ्ज पोस्ट स्थापना गर्न सम्बन्धित निकायसँग समन्वय अघि बढाउने योजना पनि सार्वजनिक गरेको छ ।


