
झापा, ३० साउन । कारागारहरुभित्र कैदी–बन्दीको व्यवस्थापनमा सहयोग गर्ने भन्दै राखिने गरेका चौकिदार, नाइके र भाइनाइकेको नियुक्ति गृह मन्त्रालयले रोकेको छ । अब ती पदमा हुने नियुक्ति प्रक्रिया पारदर्शी बनाउने तयारी थालिएको हो ।
गृहमन्त्री सुधन गुरुङले नै संसद्को कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै कारागारभित्र ती पदलाई लिएर आर्थिक लेनदेन, पहुँच र अपारदर्शिताका गुनासा बढेपछि नियुक्ति प्रक्रिया रोकिएको जनाएका हुन् ।
‘नाइके, भाइनाइके, चौकिदार नियुक्ति प्रक्रिया हामीले रोकिदिएका छौं । चौकिदार नियुक्ति अलिकति ट्रान्सपरेन्ट हिसाबले गर्नु पर्ने छ । किनभने कारागार जाँदा मान्छेले कमाएर फर्किने भयो । यो समस्या भयो’– गृहमन्त्री गुरुङको कथन छ ।
त्यसो त चौकिदार, नाइके र सहनाइके अर्थात् भाइनाइके सरकार वा कारागार प्रशासनका कर्मचारी होइनन् । उनीहरू कैदी–बन्दीमध्येबाटै तोकिने गरिन्छन्, जसले कारागार प्रशासनलाई आन्तरिक व्यवस्थापनमा सहयोग गर्छन्– भन्ने गरिन्छ । तर, त्यसो होइन; तिनले कारागारभित्र दादागिरी र गुण्डागर्दी गरेर विभिन्न तवरले अवैध कमाइको र्याकेट चलाउने गरेका हुन्छन् । ती ३ थरिका पद लिएकाहरूले निमुखा, सोझा र असहाय कैदी–बन्दीसँग विभिन्न बहानामा रकम असुल्ने, नदिने वा विरोध गर्नेलाई मरणासन्न हुनेगरी कुटपिट गर्ने, कैदी–बन्दीका आफन्तलाई समेत धम्क्याएर महिनावारी रकम असुल गर्ने ज्यादतीसम्म कारागारभित्र हुने गरेको पनि लुकेको छैन । र, तिनको त्यस्तो गुण्डागर्दी धन्धामा ‘चूप’ रहिदिए वापत अवैध कमाइको केही हिस्सा जेलर र केही सरोकारीलाई गुप्तदान गरिन्छ भन्ने पनि वर्षौंदेखि सुनिंदै आएको छ ।
समितिको साउन २९ को बैठकमा सांसदहरूले कैदी–बन्दीको दैनिक व्यवस्थापनको नाममा कैदी–बन्दीमध्येबाटै केही ‘दादागिरी गर्ने’लाई जिम्मेवारी दिने पदको नियुक्ति प्रक्रिया, अधिकार र प्रभाव बारे प्रश्न उठाएपछि गृहमन्त्रीको सो जवाफ आएको हो ।
नेपालमा वि.स. १९७१ बाट शुरु भएको कारागारको इतिहासमा पहिलो ‘सदर कारागार’ थियो, जुन अहिले काठमाडौंको जगन्नाथ देवलस्थित कारागारका रूपमा चिनिन्छ । तर चौकिदार, नाइके र सहनाइकेलाई कानूनी रूपमा कारागारको आन्तरिक व्यवस्थापनमा प्रयोग गर्ने स्पष्ट व्यवस्था कारागार ऐन–२०१९ अन्तर्गत बनेको नियमावली–२०२० बाट थालिएको पाइन्छ । सो नियमावलीमा कारागारको आन्तरिक व्यवस्थापनमा सहयोग लिन कैदी–बन्दीमध्येबाट चौकिदार, नाइके र सहनाइके राख्न सकिने उल्लेख छ । त्यसमा २५ बन्दी बराबर एक नाइके र १० बन्दी बराबर एक सहनाइके रहने भनिएको छ ।
केही वर्ष यता कारागारभित्र कैदी–बन्दीको चाप पनि ठूलो समस्या बनेको छ । कारागार व्यवस्थापन विभागका अनुसार, २०८२ साल असार मसान्तसम्म देशभरका ७५ कारागारमा २८ हजार ७ सय १८ जना कैदी–बन्दी थिए । जसमध्ये १८ हजार २ सय ८३ जना कैदी र १० हजार ४ सय ३५ जना थुनुवा थिए । पुरुषको संख्या २७ हजार १ सय ६८ र महिला १ हजार ५ सय ५० रहेमध्ये विदेशी कैदी–बन्दी १ हजार ४ सय २७ जना थिए ।
विभागले देशभरका कारागारको क्षमता १६ हजार जना अटाउने मात्रै रहेको जनाइरहँदा झण्डै दोब्बर संख्यामा कैदी–बन्दी हुनुको समस्या पनि विकराल छ । त्यससँगै जीर्ण भएका र हुँदै गएका भौतिक संरचना, सीमित जनशक्ति र कमजोर आन्तरिक व्यवस्थापन पनि समस्याकै रुपमा जोडिएका छन् ।


