
झापा, ३१ साउन । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा पहिरो, बाढी तथा सडक कटान हुँदा सडक अवरुद्ध भएका छन्। प्रहरी प्रधान कार्यालयले आज बिहान ५ बजेसम्मको विवरण सार्वजनिक गर्दै इलाम, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, रुकुम पश्चिम, सङ्खुवासभा, लमजुङ, मुस्ताङ, रोल्पा र चितवनका विभिन्न सडकखण्डमा यातायात प्रभावित भएको जनाएको छ।
काभ्रेपलाञ्चोक र सिन्धुली जोड्ने बिपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा सम्भावित बाढीको जोखिमलाई दृष्टिगत गर्दै हरेक दिन साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सबै सवारीसाधनको आवागमन रोक लगाइएको छ। उक्त सडकखण्डमा बिहान ४ बजेदेखि बेलुका ६ बजेसम्म भने सवारीसाधन सञ्चालन हुनेछन्।
मकवानपुरको कान्ति लोकपथमा पनि वर्षाका कारण साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सबै किसिमका सवारीसाधनको आवागमन रोक लगाइएको प्रहरीले जनाएको छ।
इलाम नगरपालिका–९, राजदुवालीमा हिलोका कारण मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। उक्त स्थानमा वैकल्पिक सडक रहेको प्रहरीले जनाएको छ।
सिन्धुपाल्चोकको अरनिको राजमार्गअन्तर्गत भोटेकोशी गाउँपालिका–४, चारकिलो, लिपिङमा सडक भासिएपछि सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। यस्तै, रसुवाको उत्तरगया गाउँपालिका–५, खाल्टेमा सडक कटान हुँदा त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी कच्ची सडकखण्ड पनि पूर्ण रूपमा अवरुद्ध भएको छ।
रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–६, रिजेगार्ड खोलानजिक पहिरो खसेपछि भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।
सङ्खुवासभाको भोटखोला गाउँपालिका–३, सिरेक डाँडामा सडक भासिएपछि कोशी राजमार्गको खाँदबारी–किमाथाङ्का सडकखण्डमा यातायात पूर्ण रूपमा रोकिएको छ।
लमजुङको मस्र्याङ्दी गाउँपालिका–४, रामबजारमा पहिरो खसेपछि बेँसीसहर–मनाङ सडक तथा मुस्ताङको थासाङ गाउँपालिका–४, कैकुखोलामा पहिरोका कारण बेनी–जोमसोम सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ।
त्यस्तै, रोल्पाको सुनिलस्मृति गाउँपालिका–४, कागडाँडामा पहिरो खसेपछि भालुवाङ–लिवाङ सडक अवरुद्ध भएको छ। चितवनको इच्छाकामना गाउँपालिका–५, सिमलधारामा रूखसहितको सुक्खा पहिरो खसेपछि पृथ्वीराजमार्ग पनि पूर्ण रूपमा अवरुद्ध भएको छ।
निरन्तरको वर्षाका कारण पहिरो खस्ने, बाढीले सडक कटान गर्ने र सडक भासिने क्रम जारी रहेकाले आफूले यात्रा गर्ने सडकको अवस्था बुझेर मात्र यात्रा गर्न प्रहरीले आग्रह गरेको छ। साथै, सम्भावित जोखिमलाई ध्यानमा राख्दै आवश्यक सतर्कता अपनाउन पनि प्रहरी प्रधान कार्यालयले सबैलाई अनुरोध गरेको छ।


