
पिंगलास्थानस्थित ‘फिल्म क्याम्पस’को स्टुडियो थिएटरमा जारी नाटक ‘शत्रु’को मञ्चन सकिएको छ । शनिबार २१ शो मञ्चन गर्दै नाटक सकिएको हो । २१ शोमा ४ हजार बढी दर्शकले नाटक हेरेको नाटकका कलाकार राजु राज पुरीले जानकारी दिए ।
नेपाली साहित्यका शिखर पुरुष विश्वेश्वरप्रसाद (बिपी) कोइरालाद्वारा लिखित चर्चित मनोवैज्ञानिक कथा ‘शत्रु’लाई श्रीकृष्ण शाहीले नाट्य रूपान्तरण गरेका थिए । राम भजन कामत र पुष्पराज अवस्थीको संयुक्त परिकल्पना तथा निर्देशन रहेको नाटक कक्षा १० को पाठ्य पुस्तकमा पनि छ ।
प्रल्हाद खरेल, विपुल थापा, रेश्मा भट्टराई, उत्सव बुढाथोकी, राजु राज पुरी, सञ्जय चौधरी, महेश खड्का, अभिभ घिमिरे, जय प्रकाश वि.क. र नेहा महरा लगायतका कलाकारहरू लगायत कलाकारको अभिनय रहेको नाटकको मुख्य व्यवस्थापक सबिन न्यौपाने र मञ्च व्यवस्थापन चन्द्र शेखर राय हुन् ।
प्रकाश दाहाल मुख्य सहायक निर्देशक रहेको नाटक विद्यार्थीहरूलाई लक्षित गर्दै तयार पारिएको भए तापनि यसले आम रङ्गप्रेमीहरूलाई समेत आकर्षित गरेको थियो । नाटक मृगशिरा वर्ल्ड स्कुल र लालटिन पिक्चर्स क्याथर्सिसको सहयोगमा मञ्चन भएको हो ।


