
झापा, १ भदौ । नेपालमा जापानिज इन्सेफलाइटिस (जेइ)बाट सङ्क्रमित हुनेको सङ्ख्या ६३ पुगेको छ । सङ्क्रमितमध्ये १६ जनाको मृत्यु भएको छ।
परिवार कल्याण महाशाखाले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार हालसम्म २२ जिल्लाका ५० स्थानीय तहमा जेइका सङ्क्रमित भेटिएका छन् ।
देशभर ८७८ जनामा एक्युट इन्सेफलाइटिस सिन्ड्रोम (एईएस) देखिएकामा ६३ जनामा जेइ सङ्क्रमण पुष्टि भएको हो । पछिल्लो पाँच दिनमा मात्रै नौ जना नयाँ सङ्क्रमित थपिएका छन् । सङ्क्रमितमध्ये ३४ पुरुष र २९ महिला छन् । हाल ३१ जना उपचाररत रहेको महाशाखाले जनाएको छ ।
जेइ सङ्क्रमणबाट मृत्यु भएका १६ जनामध्ये कसैले पनि जेइविरुद्धको खोप नलगाएको पाइएको छ । मृत्यु हुनेमा नौ महिला र सात पुरुष छन् । जेइबाट झापाका पाँच, सुनसरी र सप्तरीका दुई–दुई तथा मोरङ, इलाम, रौतहट, धनुषा, पर्सा, काभ्रे र दाङका एक–एक जनाको मृत्यु भएको हो ।


