
झापा, १ भदौ । नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बीच प्रदेश सरकार सञ्चालनका लागि भएको तीनबुँदे सहमतिसँगै नेकपा कोशी प्रदेश सरकारमा सहभागी भएको छ । दुई पार्टीबीच भएको सहमतिअनुसार नेकपा औपचारिक रूपमा सरकारमा सहभागी भएपछि मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज मन्त्रिमण्डल विस्तार तथा जिम्मेवारी हेरफेर गर्नुभएको हो ।
मन्त्रिमण्डल विस्तारसँगै नेकपाका गोम्बु शेर्पालाई आन्तरिक मामिला तथा कानून, गीता तिम्सिनालाई सामाजिक विकास, खिनु लङ्वा लिम्बूलाई पर्यटन, वन तथा वातावरण र जीवन आचार्यलाई भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ। त्यस्तै, सपना दर्जीलाई भौतिक पूर्वाधार विकास राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ । नेकपाले चार मन्त्रालयका लागि पाँच जनालाई सरकारमा पठाएको छ । नेकपाबाट सरकारमा सहभागी पाँच जनामध्ये तीन जना महिला छन् ।
मन्त्रिमण्डल विस्तारसँगै एमालेबाट सरकारमा रहेका केही मन्त्रीको जिम्मेवारीसमेत हेरफेर गरिएको छ । यसअघि आन्तरिक मामिला तथा कानून मन्त्री रहनुभएका इन्द्रमणि पराजुलीलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको छ भने सामाजिक विकास मन्त्री रामप्रसाद मेहतालाई उद्योग, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।
त्यस्तै, यसअघि आन्तरिक मामिला तथा कानून राज्यमन्त्री रहनुभएका उमाकान्त गौतमलाई स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ । एमालेका तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्री विदुरकुमार लिङ्थेप र खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्री तिलचन पाठकको जिम्मेवारी भने यथावत् राखिएको छ ।
नवनियुक्त मन्त्रीहरूलाई प्रदेश प्रमुखको कार्यालयमा आयोजित विशेष समारोहमा प्रदेश प्रमुख पर्शुराम खापुङले पद तथा गोपनीयताको शपथ गराउनुभयो । राज्यमन्त्री सपना दर्जीलाई भने मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शपथ गराउनुभयो ।


