
चर्चित गायक शिव परियार र गायिका समीक्षा अधिकारीले अमेरिकाका विभिन्न सहरमा साङ्गीतिक टुर गर्ने भएका छन्।
उनीहरूसँगै नेपाली ब्लुज ब्यान्ड मुक्ति एन्ड रिभाइभलले पनि अमेरिकामा साङ्गीतिक यात्रा गर्ने भएको छ।
थ्रीई इन्टरटेनमेन्ट, युएसएको आयोजनामा हुन लागेको टुर अमेरिकामा रहेका नेपाली समुदायलाई मनोरञ्जन र सांस्कृतिक माहोल प्रदान गर्ने उद्देश्यले आयोजना गर्न लागिएको हो।
‘दसैँ(तिहार धमाका यूएसए टुर २०२६’ नाम दिइएको कार्यक्रममा गायिका समीक्षा अधिकारी र शिव परियारले करिब २० शो गर्नेछन्। उनीहरूको साङ्गीतिक यात्रा आगामी सेप्टेम्बर २५ मा अस्टिन र सेप्टेम्बर २६ मा डलासबाट सुरु हुनेछ। त्यसपछि अक्टोबर २ मा कोलम्बस, अक्टोबर ३ मा एक्रोन, अक्टोबर ९ मा ह्यारिसबर्ग, अक्टोबर १० मा ल्यान्कास्टर, अक्टोबर ११ मा एशबर्न, अक्टोबर १७ मा मिलवाकी र अक्टोबर १८ मा सिकागोमा कार्यक्रम हुनेछ।
यता मुक्ति एन्ड रिभाइभल ब्यान्डले पनि आफ्नो ३० वर्षे नेपाल ब्लुज यात्राको उत्सव मनाउँदै अमेरिकाका विभिन्न सहरमा प्रस्तुति दिने तयारी गरेको छ। ब्यान्डले ‘म्युजिकल रिभाइभल(साधना भण्डारी ३० औँ वार्षिकोत्सव टुर’ नामसहित विशेष प्रस्तुति गर्न लागेको हो।
‘द लिगेसी, द ब्लुज, द रिभाइभल’ नारा दिइएको उक्त कार्यक्रममा साधना भण्डारी ३० औँ वार्षिकोत्सवलाई विशेष रूपमा मनाइनेछ। ब्यान्डको तालिकाअनुसार सेप्टेम्बर १२ मा डलास, सेप्टेम्बर १८ मा ह्युस्टन, सेप्टेम्बर १९ मा सेन्ट लुइस र सेप्टेम्बर २६ मा न्यु ह्याम्पसायरमा साङ्गीतिक कार्यक्रम हुनेछ।
प्रयास भुसाल संयोजक रहेको उक्त साङ्गीतिक कार्यक्रमको प्रायोजक युएसएको ओनेस्ट रियलस्टेट रहेको छ।


