
इलाम, ३ भदौ । इलाम नगरपालिका–८ र १० जोड्ने काइलाटारस्थित माईखोलामा झोलुङ्गे पुल निर्माण भएपछि स्थानीयवासीलाई आवतजावतमा सहज भएको छ।
कोशी प्रदेश सरकारको लगानीमा आर्थिक वर्ष २०८२–०८३ मा १७९ मिटर लामो पुल निर्माण गरिएको हो। पुल निर्माणमा ८४ लाख ७१ हजार ४६० रुपैयाँ खर्च भएको पूर्वाधार विकास कार्यालय इलामले जनाएको छ।
पुल बनेपछि वर्षायाममा राजदुवाली वा सिमलगोलाईको बाटो घुमेर जानुपर्ने बाध्यता हटेको स्थानीयवासीले बताएका छन्। मेची राजमार्गको इलाम–राजदुवाली सडक पहिरोका कारण अवरुद्ध भएपछि तिल्केनी–सिलपुर सडकखण्ड हुँदै झापा–इलाम आवतजावत गर्ने मोटरसाइकलका लागि समेत पुलसहितको यो मार्ग वैकल्पिक बाटो बनेको छ।
स्थानीयका अनुसार अहिले दैनिक सयौँ मोटरसाइकल यही बाटो हुँदै आवतजावत गर्ने गरेका छन्। पुल बनेपछि काइलाटार घुम्न, तस्बिर खिच्न र टिकटक बनाउन आउनेको सङ्ख्यासमेत बढेको छ।


