
झापा, ४ भदौ । देशभर मनसुनी वायुको प्रभाव कायमै रहेकाले आज कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
हाल देशभर सामान्यतया बदली रही कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
महाशाखाका अनुसार आज दिउँसो देशका अधिकांश भूभागमा बदली रहनेछ। हिमाली क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। पहाडी भूभागका धेरै स्थान तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराईका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ।
कोशी प्रदेशको तराई र मधेस प्रदेशका केही स्थानमा हुरीबतासको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।
आज राति हिमाली तथा पहाडी भूभागमा सामान्यतया बदली रहनेछ। कोशी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा पनि बदली रहने तथा अन्य तराई क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ।
रातिको समयमा पनि हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। लुम्बिनी र कोशी प्रदेशका तराई तथा मधेस, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही तराई क्षेत्रमा समेत वर्षा हुन सक्ने पूर्वानुमान छ।


