
झापा, ४ भदौ । बाढीपहिरोका कारण देशका विभिन्न स्थानमा राजमार्ग तथा सडक अवरुद्ध भएका छन्। प्रहरीले दिएको जानकारीअनुसार इलाम, काभ्रे, मकवानपुर, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, लमजुङ र रुकुम पश्चिमका प्रमुख सडकखण्ड पूर्णरूपमा बन्द भएका छन्।
इलाममा मेची राजमार्ग, काभ्रेमा बीपी राजमार्ग, मकवानपुरमा कान्तीलोकपथ, सिन्धुपाल्चोकमा अरनिको राजमार्ग, रसुवामा त्रिशूली–मैलुङ सडक, नुवाकोटमा टोखा–छहरे सडक, लमजुङमा बेँसीसहर–मनाङ सडक र रुकुम पश्चिममा जाजरकोट–डोल्पा सडक पूर्णरूपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ।
मेची राजमार्ग अवरुद्ध भए पनि इलाममा वैकल्पिक सडकबाट सवारी आवतजावत भइरहेको छ। काभ्रेमा बीपी राजमार्ग रातिको समयमा बन्द रहे पनि दिनमा भने सवारीसाधन सञ्चालन भइरहेको प्रहरीले जनाएको छ।
त्यस्तै, बागलुङमा कालीगण्डकी करिडोर तथा मुस्ताङमा बेनी–जोमसोम र जोमसोम–कोरला सडक एकतर्फी रूपमा सञ्चालनमा रहेका छन्।
लगातारको वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढेकाले सडकमा यात्रा गर्दा सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ।


