
झापा, ४ भदौ । आज देशका विभिन्न स्थानका खोला तथा नदीमा बहाव बढ्ने र आसपासका क्षेत्रमा बाढीको जोखिम रहने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार बिहान ८ बजेको मापनमा कोसी, नारायणी, बागमती, कर्णाली, महाकाली तथा तिनका सहायक नदीहरूका साथै कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको बहाव सतर्कता तहभन्दा तल रहेको छ। तर दिउँसो तथा रातिको समयमा नदीको बहाव बढ्न सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
आज रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, गोरखा, लमजुङ, कास्की, स्याङ्जा, पर्वत, रोल्पा, सल्यान, रुकुम पश्चिम, जाजरकोट, दैलेख र सुर्खेत तथा आसपासका जिल्लाबाट बहने ससाना नदी तथा खोलामा बहाव उल्लेख्य बढ्ने सम्भावना रहेको छ।
यी क्षेत्रमा आकस्मिक बाढीको मध्यम जोखिम रहेको महाशाखाले बुलेटिनमार्फत जनाएको छ। खोला तथा नदी किनार, तटीय क्षेत्र र जोखिमयुक्त स्थानमा बसोबास गर्नेहरूलाई सतर्क रहन तथा आवश्यक सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ।


