
भद्रपुर, ७ भदौ । मेची बहुमुखी क्याम्पसको रिसर्च मेनेज्मेन्ट सेल (आरएमसी)को आयोजनामा जलवायु परिवर्तन अनुकूलन र न्यूनीकरण सम्बन्धमा बहुसरोकारवाला बीच यहाँ गोष्ठी एवम् कार्यशाला शुरु भएको छ ।
जलवायु परिवर्तनसँग सम्बन्धित २ दिने गोष्ठीको स्थानीय डे–ग्लो होटलको प्रेक्षालयमा भद्रपुरका नगर–प्रमुख गणेश पोखरेलले ‘हरित भविष्य’को कामना सहित बिरुवामा जल सिंचन गरी उद्घाटन गरेका हुन् ।
भद्रपुर लगायत अर्जुनधारा, मेचीनगर, दमकसम्मका वातावरण विज्ञान विषयक अध्यापक सहभागी छन् भने मेची क्याम्पस वातावरण विज्ञान विषय अध्ययनरत ६५ जना विद्यार्थीहरूको सो गोष्ठी एवम् कार्यशालामा सहभागिता रहेको उप–प्राध्यापक केशव काफ्लेले जानकारी दिए ।
मेची क्याम्पसका प्रमुख देवीप्रसाद आचार्यको सभापतित्वमा भएको उद्घाटन सत्रमा आरएमसी।का संयोजक प्रा.डा. ठाकुरप्रसाद पोखरेलले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा प्रकृतिको संरक्षणबाटै मानव सभ्यताको रक्षा हुन सक्ने, ब्रह्माण्डको रक्षा पनि प्रकृतिलाई माया र संरक्षण गरेर हुन सक्ने हुँदा जलवायुको संरक्षणमा मानव जाति सबैको सचेतना र समान दायित्व रहेको बारे वक्ताहरूले अभिमत जाहेर गरेका थिए ।
कार्यशालामा त्रिवि. वातावरण विज्ञान विभागका पूर्वप्रमुख प्रा. मदन कोइराला, पूर्वसांसद एवम् प्राध्यापक के.आर. खम्बू र कोशी प्रदेश सरकारको बन तथा वातावरण मन्त्रालयकी अधिकृत विनिता सुवेदी विशेषज्ञका रूपमा प्यानलिष्ट रहेका छन् भने मेची क्याम्पसकी उप–प्रा. केसु पन्त मोडरेटरका रूपमा रहेकी छिन् । कार्यशाला भदौ ७ गते समापन हुने छ ।


