
निशान निरौला
इलाम, ८ भदौ । इलामका विभिन्न स्थानमा आइतबार परेको चट्याङका छुट्टाछुट्टै घटनामा एक जना घाइते भएका छन् भने तीन वटा गाई र एउटा पाडा मरेका छन् । चट्याङका कारण विद्युत् मिटर बक्समा समेत क्षति पुगेको प्रहरीले जनाएको छ।
माङसेबुङ गाउँपालिका–३ खलङ्गेमा चट्याङ लागेर वाइफाइ जडानका लागि पुगेका २२ वर्षीय विक्रम लावती घाइते भएका छन्। पवन राईको घरअगाडि रहेको फलामको पोलमुनि बसेर न्यू लिंक कम्पनीबाट वाइफाइ जडान गर्ने क्रममा आइतबार दिउँसो करिब १ः४५ बजे उनलाई चट्याङ लागेको हो।
चट्याङ लागेर बेहोस भएका लावतीलाई कम्पनीका सञ्चालक योगेश राईले तत्काल दमकस्थित आम्दा अस्पताल पुर्याएका थिए। उनको इमर्जेन्सी वार्डमा उपचार भइरहेको र अहिले बोल्न सक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ।
त्यस्तै, देउमाई नगरपालिका–९ सरदारगाउँमा चट्याङ लागेर डिल्लीकुमार माबोहाङको घरमा जडान गरिएको विद्युत् मिटर बक्स पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। घरको ग्वालीमा बाँधिएको एउटा पाडासमेत चट्याङ लागेर मरेको प्रहरीले जनाएको छ। घटनामा मानवीय क्षति भने भएको छैन। मिटर बक्स र पाडासहित करिब ६५ हजार रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।
यसैगरी, सूर्योदय नगरपालिका–१३ कोल्बोटेमा चट्याङ लागेर दुई वटा गाई मरेका छन्। मानववीर नेम्बाङको घरबाट करिब ५० मिटर दक्षिणमा रहेको गोठमा बाँधिएका गाईलाई चट्याङ लागेको हो। घटनामा मानवीय क्षति नभएको प्रहरीले जनाएको छ।
लगातारको वर्षासँगै चट्याङका घटना बढेपछि इलामका विभिन्न प्रहरी टोली घटनास्थलमा खटिएका छन्। प्रहरीले घटनास्थलको निरीक्षण गरी क्षतिको विवरण संकलन तथा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।


