
भोजपुर, ८ भदौ । भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले किसानलाई व्यावसायिक कृषितर्फ आकर्षित गर्न रायो र मूलाखेती प्रवर्द्धन गर्ने भएको छ।
गाउँपालिकाले उन्नत जातको रायो र मूलाको बीउ वितरणसँगै उत्पादित कृषि उपजको बजार सुनिश्चित गर्न सिद्धकाली एग्रो प्रालि भोजपुरसँग खरिद पूर्वसम्झौता गरेको छ।
सम्झौताअनुसार न्यूनतम समर्थन मूल्य निर्धारण गरी रायो र मूला ५००–५०० टन खरिद गरिने गाउँपालिका अध्यक्ष सरोज बस्नेतले जानकारी दिनुभयो।
गाउँपालिकाले किसानलाई उन्नत बीउ उपलब्ध गराउनुका साथै खेती प्रविधिमा प्राविधिक सहयोग गर्ने जनाएको छ। उत्पादित उपजले उचित मूल्य नपाउने र बजारको अभाव हुने समस्या समाधान गर्दै किसानको आम्दानी बढाउने उद्देश्यले कार्यक्रम अघि बढाइएको गाउँपालिकाले जनाएको छ।
रायो र मूलाको व्यावसायिक उत्पादन बढाएर स्थानीय किसानको आय वृद्धि गर्ने तथा बाह्य क्षेत्रबाट आउने तरकारीमा निर्भरता घटाउने गाउँपालिकाको लक्ष्य छ।


