
झापा, १० भदौ । रसुवास्थित भोटेकोशी नदीमा आज बिहान आएको भीषण बाढीपछि नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरमार्फत ११४ जना बाढी प्रभावितको हवाई उद्धार गरिएको छ ।
नेपाल प्रहरीका अनुसार नेपाली सेनाले विभिन्न उडानमार्फत ८५ जना र निजी क्षेत्रका विभिन्न हेलिकप्टर कम्पनीले २९ जनाको उद्धार गरेका छन् । नेपाली सेनाले टिमुरे–धुन्चेबाट ६० जना, टिमुरे–त्रिशूलीबाट १३ जना, मैलुङबाट पाँच जना, बेत्रावतीबाट चार जना र त्रिशूली–काठमाडौँबाट तीन जनाको उद्धार गरेको जनाएको छ ।
त्यसैगरी, निजी क्षेत्रका हेलिकप्टर कम्पनीमध्ये कैलाश हेलिकप्टरले रसुवाबाट टिचिङ अस्पतालमा पाँच जना, सिम्रिकले रसुवाबाट तीन जना, अन्नपूर्णले रसुवाबाट टिचिङ अस्पतालमा चार जना, प्रभुले रसुवाबाट टिचिङ अस्पतालमा पाँच जना, सिम्रिकले रसुवाबाट टिचिङ अस्पतालमा दुई जना, फिस्टेलले रसुवाबाट टिचिङ अस्पतालमा पाँच जना, एभरेस्टले रसुवाबाट टिचिङ अस्पतालमा दुई जना र प्रभु हेलिकप्टरले रसुवाबाट वीर अस्पतालमा तीन जनाको उद्धार गरेका छन् । उद्धार गरिएकामध्ये केहीलाई उपचारका लागि काठमाडौँका विभिन्न अस्पतालमा ल्याइएको प्रहरीले जनाएको छ ।


