
झापा, १३ भदौ । रसुवाको भोटेकोशी नदीमा गत बुधबार आएको बाढीबाट रसुवा, नुवाकोट र धादिङमा ठूलो धनजनको क्षति भएपछि सरकार खोजी, उद्धार, राहत तथा पुनःस्थापनामा जुटेको छ। विपद्को यस विषम अवस्थामा स्वदेश तथा विदेशका विभिन्न सरकार, संस्था र व्यक्तिबाट सहयोग प्राप्त हुने क्रम जारी छ।
हालसम्म विभिन्न देश तथा अन्तर्राष्ट्रिय संस्थाले आर्थिक तथा मानवीय सहयोग उपलब्ध गराइसकेका छन् भने केहीले सहयोगको प्रतिबद्धतासहित रकम घोषणा गरेका छन्।
अर्थ मन्त्रालयका सहसचिव अमृत लम्सालका अनुसार एसियाली विकास बैंक (एडीबी)ले बजेटरी सहयोगका लागि ५० लाख अमेरिकी डलर अनुदान उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ। एडीबीले प्राविधिक सहायताका लागि थप १ लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोगसमेत उपलब्ध गराउने भएको छ।
विश्व बैंकले बाढी प्रभावित क्षेत्रका लागि १६ करोड ७० लाख अमेरिकी डलर सहुलियतपूर्ण कर्जाका रूपमा उपलब्ध गराउने घोषणा गरेको छ। नेपालले अनुरोध गरेपछि उक्त रकम प्राप्त हुने मन्त्रालयले जनाएको छ।
त्यस्तै, अमेरिकी सरकारले ५ लाख अमेरिकी डलर र अष्ट्रेलिया सरकारले १० लाख अमेरिकी डलर नगद सहयोग गर्ने घोषणा गरेका छन्।
भारत सरकारबाट हालसम्म तीन चरणमा गरी ५७.५ टन मानवीय सहायता तथा अत्यावश्यक औषधि प्राप्त भइसकेको छ। चीन र अमेरिकाले घोषणा गरेको थप मानवीय सहायता शनिबारसम्म उपलब्ध हुने जनाइएको छ।
चीन सरकारले बाढी प्रभावित क्षेत्रमा आवागमन सहज बनाउन ३० वटा बेलीब्रिज सहयोग गर्ने घोषणा गरेको छ। साथै, शव व्यवस्थापनका लागि २ हजार वटा एयरटाइट ब्याग उपलब्ध गराउने भएको छ।
स्वीट्जरल्यान्डले संयुक्त राष्ट्रसंघको व्यवस्थापनमा खर्च हुने गरी १० लाख स्वीस फ्र्याङ्क सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।
आइएफआरसीबाट करिब १९ करोड सहयोग
रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासंघ (आइएफआरसी)ले भोटेकोशी बाढीबाट प्रभावितको खोजी, उद्धार तथा पुनःस्थापनाका लागि तत्काल रु १८ करोड ९६ लाख २२ हजार (१२ लाख अमेरिकी डलर) सहयोग गर्ने जनाएको छ।
आइएफआरसीका महासचिव जगन चापागाईंले नेपाल रेडक्रस तथा राष्ट्रिय निकायसँगको समन्वयमा आवश्यकताअनुसार थप मानवीय सहायता परिचालन गर्न तयार रहेको बताउनुभएको छ।
उहाँले सामाजिक सञ्जालमार्फत मानवीय सहयोग निरन्तर रहने उल्लेख गर्दै प्रभावित समुदायलाई आवश्यक सहयोग उपलब्ध गराउन आइएफआरसी प्रतिबद्ध रहेको जानकारी दिनुभएको छ।
गैरसरकारी संस्थाबाट खाद्यान्नदेखि अस्थायी आवाससम्म सहयोग
अर्थ मन्त्रालयका अनुसार बाढी प्रभावितको उद्धार तथा राहतका लागि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले खाद्यान्न, अस्थायी आवास, खानेपानी तथा सरसफाइ, स्वास्थ्य तथा पोषण सामग्री र उद्धार उपकरण उपलब्ध गराइरहेका छन्।
अक्सफामले २०० थान सरसफाइ सामग्रीका प्याकेट र पानी शुद्धीकरणका लागि एक हजार थान एक्वा ट्याब्लेट उपलब्ध गराएको छ। संस्थाले रसुवा, धादिङ र नुवाकोटमा खानेपानी, सरसफाइ तथा स्वच्छतासम्बन्धी सहयोग गर्ने जनाएको छ। करिब रु एक करोड ६० लाख बराबरका गैरखाद्य सामग्री आपत्कालीन प्रयोगका लागि पूर्वतयारी अवस्थामा राखिएको संस्थाले जनाएको छ।
डिसिए नेपालले धादिङमा १०० जोर गमबुट, २० थान पिक्याक्स, २० थान बेल्चा, ५० बक्स पञ्जा र ६ बक्स मास्क उपलब्ध गराएको छ। संस्थाले धादिङ र नुवाकोटमा टेन्ट, सौर्य बत्ती तथा खाद्यान्नको व्यवस्था गरिरहेको छ। पाँच सय परिवारका लागि खाद्यान्न खरिद प्रक्रिया अघि बढाइएको तथा शव व्यवस्थापनका लागि आवश्यक सामग्री उपलब्ध गराउने जनाएको छ।
सेभ द चिल्ड्रेनले नुवाकोटमा २०० थान गैरखाद्य राहत सामग्री वितरण गरिसकेको छ। थप ८०० थान सामग्री उपलब्ध रहेको र एक हजार घरधुरीलाई लक्षित गरी राहत वितरणको योजना बनाइएको छ।
ब्लिकनाओ फाउन्डेसनले नुवाकोटका लागि ५.५ केभीए क्षमताका दुईवटा जेनेरेटर उपलब्ध गराएको छ।
बिबिसी मिडिया एक्सनले रसुवाको रेडियो लाङटाङ तथा नुवाकोटका रेडियो चिम्टेश्वर र रेडियो त्रिशूलीका लागि ३.५ किलोवाट क्षमताका तीनवटा जेनेरेटर उपलब्ध गराएको छ। संस्थाका कर्मचारीले नुवाकोट पुगेर जेनेरेटर हस्तान्तरण गर्नुका साथै स्थानीय सञ्चारमाध्यमलाई नियमित प्रसारण सञ्चालनमा सहयोग गरेका छन्।
एड्रा नेपालले रसुवा, धादिङ र नुवाकोटमा अस्थायी आवासका सामग्री तथा खाद्य राहतमा सहयोग गर्ने भएको छ। हेलेन केलर इन्टरनेसनलले तीन जिल्लामा आपत्कालीन पोषण सहयोग गर्ने जनाएको छ।
इस्लामिक रिलिफ नेपालले रसुवा र नुवाकोटका प्रभावितका लागि त्रिपाल, पी–फोम म्याट, डोरी र कम्बललगायत अस्थायी आवाससम्बन्धी गैरखाद्य सामग्री उपलब्ध गराउने भएको छ।
प्लान इन्टरनेसनल नेपालले रसुवा र नुवाकोटमा खानेपानी, सरसफाइ तथा स्वच्छता, गैरखाद्य सामग्री, अस्थायी आवास र भान्साका सामग्री उपलब्ध गराउने भएको छ।
पिपुल इन निडले रसुवामा पहिलो चरणमा १४० थान गैरखाद्य सामग्री, १४० थान मर्यादा सामग्री र २७ वटा टेन्ट उपलब्ध गराएको छ।
मर्सी कप्र्सले नुवाकोटका लागि २०० थान गैरखाद्य राहत सामग्री मौज्दातमा राखेको जनाएको छ। संस्थाले खानेपानी तथा सरसफाइसँगै मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोगमा समेत काम गर्ने जनाएको छ।
युनाइटेड मिसन टु नेपालले धादिङमा खाद्यान्न तथा गैरखाद्य सामग्री उपलब्ध गराउने भएको छ। यसअन्तर्गत भान्साका सामग्री, त्रिपाल र कम्बललगायत सामग्री रहेका छन्।
ह्यान्डिक्याप इन्टरनेसनलले नुवाकोट र रसुवामा घाइतेको व्यवस्थापन, भौतिक पुनःस्थापना तथा सहायक उपकरण उपलब्ध गराउने काम गरिरहेको छ। संस्थाले ११० थान गैरखाद्य सामग्री र विभिन्न प्रकारका १०० थान सहायक उपकरण उपलब्ध गराएको छ।
केयर नेपालले रसुवा र नुवाकोटमा खाद्यान्न, आश्रय तथा गैरखाद्य सामग्रीसहितको आपत्कालीन राहत प्याकेज उपलब्ध गराउने भएको छ। यसमा भान्साका सामग्री, ओछ्यान तथा बिछ्यौना, अस्थायी आवास सामग्री, पारिवारिक टेन्ट, सरसफाइ सामग्री र शिशु सामग्रीलगायत छन्। महिला तथा बालबालिकाका लागि सुरक्षित र मैत्रीपूर्ण स्थान स्थापना गर्ने योजना पनि संस्थाले बनाएको छ।
अर्थ मन्त्रालयका अनुसार बाढी प्रभावित क्षेत्रमा राहत तथा सहयोग खाद्यान्नमा मात्र सीमित नभई अस्थायी आवास, खानेपानी शुद्धीकरण, सरसफाइ, स्वास्थ्य तथा पोषण, महिला तथा बालबालिका संरक्षण, सञ्चार सेवा पुनःसञ्चालन, उद्धार उपकरण तथा अपाङ्गता भएका र घाइतेका लागि सहायक उपकरणसम्म विस्तार भएको छ।
राहत कोषमा साढे चार अर्ब
रसुवाका बाढी प्रभावित व्यक्ति तथा क्षेत्रका लागि सरकारले स्थापना गरेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा हुने क्रम पनि जारी छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार शुक्रबार रातिसम्म कोषमा रु चार अर्ब ३८ करोड ८ लाख ५२ हजार २५२ जम्मा भइसकेको छ। उक्त रकम नौवटा वाणिज्य बैंकमा रहेका खातामा जम्मा भएको नेपाली रुपैयाँ हो।
यस्तै, हिमालयन बैंक र लक्ष्मी बैंकमा गरी थप ६ लाख ८० हजार ६१८ अमेरिकी डलर जम्मा भएको कार्यालयले जनाएको छ। यो रकम करिब रु १० करोड ३८ लाख बराबर हुन्छ।
सरकारले प्राप्त भइरहेको सहयोगलाई बाढी प्रभावित क्षेत्रमा खोजी, उद्धार, राहत तथा पुनःस्थापनामा परिचालन गर्ने जनाएको छ।


