
काठमाण्डौ, १६ भदौ । लर्ड्समा घरेलु टोली इङ्ग्ल्यान्डसँगको दोस्रो टेस्टमा हार बेहोरेपछि पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले टोलीबाट ७ जना खेलाडीलाई फिर्ता बोलाउने निर्णय गरेको छ ।
पीसीबीले मोहम्मद रिजवान, इमाम–उल–हक, सलमान आगा, अली उस्मान, आमिर जमाल, ओवैस जफर र खुर्रम शहजादलाई टेस्ट टोलीबाट हटाइएको जनाएको छ ।
यी ७ खेलाडीको सट्टामा साइम अय्युब, अब्दुल्लाह फजल, अराफत मिन्हास, इमरान जुनियर, साद बेग, इमरान रन्धावा र रजाउल्लाहलाई टोलीमा समावेश गरिएको छ । पीसीबीका अनुसार यी ७ खेलाडी तेस्रो टेस्टअघि पाकिस्तानको टोलीमा सामेल हुनेछन् ।
यसैबीच पीसीबीले मुख्य प्रशिक्षक सरफराज अहमद र बलिङ प्रशिक्षक उमर गुलले पदबाट राजीनामा दिने पनि जनाएको छ ।
माइक हेसनले मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हाल्नेछन् भने एस्ली नोफ्केले बलिङ प्रशिक्षकको भूमिका सम्हाल्नेछन् । माइक हेसन पहिले नै पाकिस्तानको एकदिवसीय र टी–२० टोलीको प्रशिक्षक छन् ।


