
झापा, ७ भदौ । बङ्गलादेशसँगको दोस्रो तथा अन्तिम टेस्ट घरेलु टोली अस्ट्रेलियाले एक पारी र ५१ रनले जितेको छ । म्याकेमा भएको टेस्ट अस्ट्रेलियाले दोस्रो दिनमा नै जितेको हो ।
बङ्गलादेश दोस्रो पारीमा ९५ रनमा अलआउट भयो । बङ्गलादेशका कप्तान नजमुल होसैन शान्तोले ३१, मुशफिकर रहिमले नटआउट २९ रन बनाए । अस्ट्रेलियाका मिचेल स्टार्कले ४ विकेट लिए ।
यस्तै बङ्गलादेश पहिलो पारीमा ६४ रनमा अलआउट भएको थियो । बङ्गलादेशका शोरिफुल इस्लामले १४ रन बनाए । अस्ट्रेलियाका मिचेल स्टार्कले ६ विकेट लिए ।
अस्ट्रेलियाले पहिलो पारीमा २१० रन बनाएको थियो । अस्ट्रेलियाका क्यामरन ग्रीनले ६७, स्टेभेन स्मिथले ४२ रन बनाए । बङ्गलादेशका शोरिफुल इस्लामले ७ विकेट लिए ।
योसँगै दुई खेलको शृङ्खला १–१ को बराबरीमा सकिएको छ । पहिलो टेस्ट बङ्गलादेशले ९ विकेटले जितेको थियो ।
७५० बलमै सकिएको यो खेल सर्वकालीन चौथो छोटो र अस्ट्रेलियामा भएको दोस्रो छोटो टेस्ट बनेको छ ।
यस्तै बङ्गलादेश टेस्ट क्रिकेटको दुवै पारीमा १०० रनभन्दा कममा अलआउट हुने समग्रमा नवौँ र विगत २१ वर्षयताकै पहिलो टोली छ ।
यसअघि सन् २००५ मा न्युजिल्यान्डसँगको खेलमा जिम्बावे पहिलो पारीमा ५९ र दोस्रो पारीमा ९९ रनमा अलआउट भएको थियो ।


