भद्रपुर, २६ असोज । झापाको भद्रपुरमा प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण ५‘एस’ हक्की प्रतियोगिता–२०८३ आयोजना हुने भएको छ ।
भद्रपुर नगर हक्की संघको आयोजनामा आगामी कात्तिक १३, १४ र १५ गते प्रतियोगिता सञ्चालन हुने भएको हो । आइतबार भद्रपुर नगरपालिका–९ पुहाँतुबारीमा पत्रकार सम्मेलनको आयोजना गरी आयोजकले प्रतियोगिताबारे जानकारी दिएको हो ।

पुहात जनज्योति माध्यमिक विद्यालयको खेल मैदानमा हुने प्रतियोगितामा नेपाल, भारत र बंगलादेशका टोलीले सहभागिता जनाउने आयोजकले जनाएको छ । पत्रकार सम्मेलनमा संघका अध्यक्ष सरोजकुमार बस्नेतले प्रतियोगितामा १२ वटा टिमको सहभागिता रहने जानकारी दिनुभयो ।
भारतका ३ वटा टिम, बंगलादेशको टिमको भिषा प्रक्रियामा रहेको बताउनुहुँदै उहाँले स्थानीयस्तरमा हक्की खेलको विकास, युवा तथा युवतीको खेलप्रतिको आकर्षण वृद्धि, शारीरिक स्वास्थ्य प्रवद्र्धन र खेलकुदका माध्यमबाट रोजगारी सिर्जना गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको बताउनुभयो ।
भद्रपुर क्षेत्रमा २०६४ सालदेखि हक्की खेलको सुरुवात भएको उहाँले बताउनुभयो । खेलको २० वर्षे अवधिमा पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिता गर्न लागिएको उहाँले बताउनुभयो ।
कार्यक्रममा शुभकामना मन्तव्य राख्नुहुँदै भद्रपुर नगरपालिकाका नगरप्रमुख गणेश पोखरेलले पछिल्लो समय भद्रपुर खेलकुदको हबको रुपमा विकास हुँदै गएको बताउनुभयो । उहाँले फुटबल, भलिबल, क्रिकेट, बक्सिङ, कबड्डी लगायतका खेलसँगै हक्की खेल समेत भद्रपुरको पहिचान र गरिमालाई अझ उचाइमा पु¥याउने बताउनुभयो ।
“प्राथमिकतामा राखेर हक्की प्रतियोगितालाई सफल बनाउन सहयोग गर्छौं”, उहाँले भन्नुभयो, “प्रतियोगिता सफल बनाउन सबैको सहयोग आवश्यक छ, प्रतियोगिता सफल हुनेमा म विश्वस्त छु, आयोजकलाई पनि विश्वस्त हुन आग्रह गर्छु ।”
पत्रकार सम्मेलनमा नेपाल हक्की संघकी महासचिव सुवर्णा श्रेष्ठले नेपालमा हक्कीको विभिन्न प्रतियोगिता भए पनि अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता पहिलो पटक भएको बताउनुभयो । सरकारले खेलकुदको क्षेत्रमा कम बजेट विनियोजन गर्ने गरेको बताउनुहुँदै उहाँले भन्नुभयो, “त्यसमा पनि हक्की खेलमा बजेट अझ कम छ ।” प्रतियोगिताका लागि संघले हरेक तवरले सहयोग गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो ।
पत्रकार सम्मेलनमा भद्रपुर–९ का वडाध्यक्ष रामप्रसाद दाहालले प्रतियोगिता सफल बनाउन ठूलो धनराशीको आवश्यकता रहेकाले सोको व्यवस्थापनमा सबैले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । “हक्कीको विकासका वडाले सकेको सहयोग गर्छ”, उहाँले भन्नुभयो, “म सबैलाई सहयोग गरेर प्रतियोगिता सफल बनाउन आग्रह गर्छु ।” उहाँले सबै सञ्चारकर्मीलाई प्रचारप्रसार गरेर सहयोग गर्न आग्रह समेत गर्नुभयो ।
पत्रकार सम्मेलनमा संघका सल्लाहकार अनिल ढुंगानाले अतिविपन्न र सीमान्तकृत समुदायको बसोबास रहेको यस क्षेत्रमा हक्की खेलको माध्यमबाट आर्थिक, सामाजिक रहेक दृष्टिकोणले अघि बढाउने उद्देश्यले प्रतियोगिता गर्न लागिएको बताउनुभयो ।
सुरुवाती चरणमा नौ जना खेलाडीबाट अभ्यास शुरु भएको यस क्षेत्रको हक्की खेल अहिले व्यावसायिक रूपमा अघि बढिरहेको उहाँले बताउनुभयो । “यहाँका खेलाडीले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउँदै पुरस्कारसमेत जित्दै आएका छन्”, उहाँले भन्नुभयो, “कोशी प्रदेशको हक्की टिम उत्पादनमा समेत यस क्षेत्रको योगदान रहेको छ ।”
हाल यस क्षेत्रका करिब एक दर्जन खेलाडी राष्ट्रिय टिममा पर्न सफल भएको संघका महासचिव खगेन्द्र ढुंगानाले बताउनुभयो । यस क्षेत्रका सात जनाभन्दा बढी नेपाली सेनामा भर्ना भई त्रिभुवन आर्मी क्लबबाट खेल्ने अवसरसमेत पाएको उहाँले बताउनुभयो ।
प्रतियोगिताको मुख्य प्रायोजक चन्द्रगढी सामुदायिक वन रहेको छ भने प्रथम पुरस्कार ओम साई पाथिभरा हस्पिटल भद्रपुरका सञ्चालक दीपक पोखरेलबाट दुई लाख रुपैयाँ र दोस्रो पुरस्कार समाजसेवी भद्रपुर–१ निवासी राजकुमार राईबाट एक लाख रुपैयाँ उपलब्ध हुने आयोजकले जनाएको छ ।
प्रतियोगिता सम्पन्न गर्न करिब ३० लाख रुपैयाँ लाग्ने आयोजकको अनुमान छ । प्रतियोगिताका लागि स्थानीय तह, उद्योगी, कलकारखाना, सामाजिक संघसंस्था, व्यक्ति तथा खेलप्रेमीबाट आर्थिक सहयोग संकलन गरिने जनाइएको छ । प्रतियोगिता सम्पन्न गर्न विभिन्न १० वटा उपसमिति गठन गरिएको छ ।
यसैबीच, भद्रपुर नगर हक्की संघ र पुहात जनज्योति माध्यमिक विद्यालयबीच विद्यालय परिसरमा रहेको खेल मैदान स्तरोन्नति तथा तारबार गरी उपयोगी मैदान निर्माण गर्ने सम्झौता भएको छ । यसका लागि करिब १० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।
प्रतियोगिताले भद्रपुरलाई हक्की खेलको पहिचानयुक्त क्षेत्रका रूपमा स्थापित गर्न तथा युवा खेलाडीको प्रतिभा उजागर गर्न सहयोग पुग्ने आयोजकले जनाएको छ ।

