झापा, ११ मंसिर । राष्ट्रिय महिला आयोगकी प्रवक्ता कृष्णकुमारी पौडेलले छोरीको सुरक्षा गर्भावस्थादेखि नै सुनिश्चित हुनुपर्नेमा जोड दिनुभएको छ ।
३५औँ लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत झापाको धुलाबारी माध्यमिक विद्यालयमा आयोजित सचेतना कार्यक्रममा बोल्दै उहाँले एउटी छोरीको आँसु पुछ्न नसक्ने समाज सभ्य समाज हुन नसक्ने बताउनुभयो ।

नागरिकता प्राप्त गर्ने र विवाह गर्ने उमेर समान हुनुपर्ने तर्कप्रति असहमति जनाउँदै प्रवक्ता पौडेलले नागरिकता प्राप्त गर्नु नैसर्गिक अधिकार भए पनि विवाहका लागि शारीरिक तथा मानसिक परिपक्वता आवश्यक हुने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “नागरिकता पाउने र विवाह गर्ने उमेर समान हुनुपर्छ भन्ने तर्क अव्यावहारिक र असान्दर्भिक छ ।”
समाजको चेतनास्तर कमजोर हुँदा छोरीहरूको सुरक्षा सुनिश्चित गर्न नसकिने उल्लेख गर्दै उहाँले सामाजिक चेतना अभिवृद्धि गर्न आवश्यक रहेको बताउनुभयो ।
वातावरणमैत्री क्लब धुलाबारी माध्यमिक विद्यालयको आयोजनामा प्रभातफेरीपछि भएको कार्यक्रममा बोल्दै प्रवक्ता पौडेलले लैंगिक हिंसाका घटना घटेपछि मात्रै प्रतिक्रिया जनाउने नभई हिंसाको अन्त्यका लागि अग्रसर हुनुपर्ने बताउनुभयो । महिला कहाँ सुरक्षित छन् भन्ने प्रश्न नै उठ्न नपर्ने अवस्था सिर्जना गर्नुपर्ने उहाँको भनाइ थियो ।
कार्यक्रममा इलाका प्रहरी कार्यालय धुलाबारीका प्रहरी सहायक निरीक्षक (सई) सुवास थापाले साइबर अपराध न्यूनीकरणसम्बन्धी सचेतनामूलक प्रशिक्षण दिनुभएको थियो । विद्यालयका विभिन्न क्लबमा आबद्ध सयौँ विद्यार्थी सहभागी कार्यक्रममा उनीहरूले महिला तथा लैंगिक हिंसा र त्यसबाट बच्ने उपायबारे जिज्ञासा राखेका थिए ।
वातावरणमैत्री क्लबकी अध्यक्ष उपासना आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका निमित्त प्रधानाध्यापक दीपेन्द्र कन्दङ्वा र शिक्षक रमेशकुमार दाहालले पनि मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा प्रस्तुत जानकारीअनुसार गत आर्थिक वर्षमा घरेलु हिंसाका कारण १६९ जना महिलाले ज्यान गुमाएका थिए । तीमध्ये १६ जना कोशी प्रदेशका रहेको जनाइएको छ ।
मंसिर ९ गतेदेखि सुरु भएको लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान मंसिर २४ गतेसम्म सञ्चालन हुनेछ । आयोगकी प्रवक्ता पौडेल झापा, मोरङ, सुनसरी र उदयपुरमा हुने कार्यक्रमहरूमा सहभागी हुन पूर्वी नेपाल आउनुभएको हो ।
यसैक्रममा उहाँले झापा प्रशासन, सुरक्षा निकाय तथा राजनीतिक दलका प्रतिनिधिसँग लैंगिक हिंसा न्यूनीकरणका विषयमा अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ ।
आफू धुलाबारी माध्यमिक विद्यालयको पूर्वविद्यार्थीसमेत भएकाले यस वर्षको अभियानअन्तर्गत विद्यालयमा आयोजित कार्यक्रममा सहभागी हुन पाउँदा खुसी लागेको प्रवक्ता पौडेलले बताउनुभयो ।

