झापा, ११ मंसिर । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशका हिमाली क्षेत्रमा आंशिक बदली रहेको छ भने तराईका केही स्थानमा हुस्सु तथा तुवाँलो लागेको छ ।
महाशाखाले जारी गरेको मौसम पूर्वानुमानअनुसार आज दिउँसो कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ । देशका बाँकी भूभागमा भने मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ ।

कोशी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
त्यस्तै, काठमाडौँ उपत्यकामा आज न्यूनतम तापक्रम ८ देखि १० डिग्री सेल्सियस र अधिकतम तापक्रम २२ देखि २४ डिग्री सेल्सियससम्म रहने पूर्वानुमान गरिएको छ ।
आज राति कोशी र गण्डकी प्रदेशका हिमाली भूभाग तथा कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ । अन्य भूभागमा भने मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।
शनिबार बिहान काठमाडौँ उपत्यका तथा खोँचका साथै तराईका केही स्थानमा हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेको छ ।

