सन्तोष शर्मा
भद्रपुर, ११ मंसीर । झापाको भद्रपुरमा आप्रवासी श्रमिकहरूको न्यायमा पहुँच सुनिश्चित गर्ने विषयमा जिल्लास्तरीय सरोकारवालाहरूसँग कार्यशाला सम्पन्न भएको छ । मानव अधिकारका लागि जनमञ्च (पिपुल्स फोरम) को आयोजना तथा अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आइओएम) को सहयोगमा कार्यशाला सम्पन्न भएको हो ।

कार्यशालामा वैदेशिक रोजगारीको वर्तमान अवस्थाबारे पिपुल्स फोरमका उपाध्यक्ष अधिवक्ता कृष्ण न्यौपानेले प्रस्तुतीकरण गर्नुभएको थियो । उहाँले नेपालबाट वार्षिक झन्डै आठ लाख मानिस वैदेशिक रोजगारीमा जाने गरेको जानकारी दिनुभयो । विदेशिने श्रमिकमध्ये ८८ प्रतिशत पुरुष र १२ प्रतिशत महिला रहेको उल्लेख गर्दै महिला वैदेशिक रोजगारीमा जाने जिल्लामध्ये झापा पहिलो स्थानमा रहेको र समग्रमा सबैभन्दा बढी श्रमिक वैदेशिक रोजगारीमा जाने जिल्ला धनुषा रहेको बताउनुभयो ।

कार्यशालामा पिपुल्स फोरमका संस्थापक अध्यक्ष सोम लुइँटेलले आप्रवासी श्रमिकको न्यायमा पहुँचका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । उहाँका अनुसार २०६८ सालदेखि २०८३ असार मसान्तसम्म पिपुल्स फोरमले ३४ हजार ८३४ जनालाई कानुनी सहायता उपलब्ध गराएको छ । त्यस्तै, वैदेशिक रोजगारीका क्रममा पीडित भएकाहरूलाई दुई अर्ब ४८ करोड ६० लाख ५९ हजार ६१२ रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराइएको तथ्याङ्क उहाँले प्रस्तुत गर्नुभयो ।
नेपालको संविधानमा वैदेशिक रोजगारीसम्बन्धी विषय स्पष्ट रूपमा समेटिन नसकेको उल्लेख गर्दै लुइँटेलले तीनै तहका सरकारको कार्यसूचीमा समेत वैदेशिक रोजगारीले पर्याप्त प्राथमिकता पाउन नसकेको बताउनुभयो । वैदेशिक रोजगारीका नाममा धेरै मानिस बेचबिखनमा पर्ने गरे पनि उजुरी गर्नेको संख्या न्यून रहेको उहाँको भनाइ थियो । उहाँले करिब ६० प्रतिशत मानिस स्वदेशमै ठगीमा पर्ने गरेको तथ्यसमेत प्रस्तुत गर्नुभयो ।
ठगीसम्बन्धी घटनामध्ये ८८ प्रतिशत व्यक्तिगत र १२ प्रतिशत संस्थागत प्रकृतिका रहेको उल्लेख गर्दै उहाँले व्यक्तिगत रूपमा हुने ठगी नियन्त्रणका लागि प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिनुभयो ।
कार्यशालामा युवा तथा श्रम, रोजगार मन्त्रालयका उपसचिव जनकराज शर्माले व्यवसाय र मानव अधिकारसम्बन्धी राष्ट्रिय कार्ययोजनाबारे जानकारी दिनुभएको थियो । सबै व्यवसायले मानव अधिकारका आधारभूत सिद्धान्तको सम्मान गर्नुपर्नेमा जोड दिँदै उहाँले उक्त कार्ययोजना निर्माण गर्ने सन्दर्भमा नेपाल दक्षिण एसियामा तेस्रो देश रहेको जानकारी दिनुभयो ।
कार्यक्रमको समापन सत्रका प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक सुवास बुढाथोकीले वैदेशिक रोजगारीका क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रहरीले विगतदेखि नै काम गर्दै आएको बताउनुभयो । पीडितले न्याय पाउने वातावरण निर्माण गर्न सबै सरोकारवाला एकजुट हुनुपर्ने उहाँको भनाइ थियो ।
जिल्ला प्रशासन कार्यालय झापाका प्रशासकीय अधिकृत चुडामणि आपगाईंले कानुन कार्यान्वयन गर्ने जिम्मेवार निकायबीच समन्वयको कमीले समस्या देखिएको बताउनुभयो । वैदेशिक रोजगारीसम्बन्धी उजुरी प्रशस्त आउने गरेको उल्लेख गर्दै उहाँले हालसम्म ३६७ वटा उजुरी परेको जानकारी दिनुभयो । सकेसम्म उजुरीहरू आपसी सहमतिमा मिलापत्र गराउने प्रयास गरिने उहाँले बताउनुभयो । पछिल्लो समय युरोप पठाइदिने भन्दै ठगी गर्ने घटना बढेकाले सचेत रहनसमेत उहाँले आग्रह गर्नुभयो ।
झापा बारका अध्यक्ष वसन्त नेपालले वैदेशिक रोजगारीमा हुने ठगीलगायतका घटना न्यूनीकरण गर्न सचेतनामूलक कार्यक्रम आवश्यक रहेको बताउनुभयो । राज्यले कानुन बनाए पनि कार्यान्वयन पक्ष कमजोर हुँदा समस्या बढिरहेको उल्लेख गर्दै उहाँले कानुनको प्रभावकारी कार्यान्वयनमा सबै पक्ष जिम्मेवार हुनुपर्ने धारणा राख्नुभयो ।
वैदेशिक रोजगार व्यवसायी संघ झापाका अध्यक्ष धनबहादुर पंधाकले वैदेशिक रोजगारीमा पठाउनेबित्तिकै व्यवसायीलाई पीडक र विदेश जानेबित्तिकै श्रमिकलाई पीडित ठान्ने बुझाइ गलत रहेको बताउनुभयो । सम्बन्धित मुलुकमा रहेका नेपाली दूतावासले व्यवसायी वा श्रमिकमध्ये कसको गल्ती हो भन्ने विषयमा सत्यतथ्य छानबिन गर्न सके वैदेशिक रोजगार व्यवसायलाई थप व्यवस्थित बनाउन सहयोग पुग्ने उहाँको धारणा थियो ।
वैदेशिक रोजगारीमा गएपछि काम नगर्ने, कम्पनी छाडेर भाग्नेलगायतका घटना पनि हुने गरेको उल्लेख गर्दै उहाँले यस्ता विषयमा समेत सरोकारवाला निकायले ध्यान दिनुपर्ने बताउनुभयो । पछिल्लो समय शैक्षिक परामर्शदाता, ब्युटी पार्लर, ट्राभल एजेन्सी तथा तालिम केन्द्रमार्फत युवाहरूलाई वैदेशिक रोजगारीमा पठाइँदा समस्या देखिने क्रम बढेकाले त्यसतर्फ पनि निगरानी आवश्यक रहेको उहाँको भनाइ छ ।
नेपाल पत्रकार महासंघ झापाका पूर्वअध्यक्ष मोहनकाजीले कार्यशालाबाट वैदेशिक रोजगारीका क्षेत्रमा देखिएका समस्या र समाधानका उपायबारे धेरै जानकारी प्राप्त भएको बताउनुभयो । वैदेशिक रोजगारीका विषयमा पीडक वा पीडितको पक्षमा मात्र समाचार लेख्ने प्रवृत्तिभन्दा तथ्यमा आधारित पत्रकारिता आवश्यक रहेको उल्लेख गर्दै उहाँले सम्बन्धित सरकारी निकायले यस विषयमा विशेष चासो दिनुपर्ने धारणा राख्नुभयो ।
कार्यशालाको समापन आइओएमका प्रज्वल शर्माले गर्नुभएको थियो । कार्यक्रम सञ्चालन पिपुल्स फोरमका झापा फोकल पर्सन अधिवक्ता देवेन्द्र भण्डारीले गर्नुभएको थियो ।
