झापा, ११ मंसिर । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत रहेको सार्वजनिक खरिद अनुगमन कार्यालयले झापाको एकसहित सातवटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ ।
कार्यालयले आज सूचना जारी गर्दै विभिन्न सार्वजनिक निकायको सिफारिसका आधारमा ती निर्माण कम्पनीलाई कालोसूचीमा राखिएको जनाएको हो । कालोसूचीमा पर्नेमध्ये झापा दमक–५ को पार्वता ढकाल मुख्य व्यक्ति रहेको आर.यु.पी.एस कन्सट्रक्सन प्रालि समेत रहेको छ । कमल गाउँपालिकाले आर.यु.पी.एस कन्सट्रक्सनलाई कालोसूचीमा राख्न पत्र पठाएको थियो ।

कार्यालयका अनुसार ठेक्का सम्झौताअनुसार जिम्मा लिएको काम निर्धारित समयमा सम्पन्न नगरेको पाइएपछि सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम उनीहरूलाई कालोसूचीमा राखिएको हो ।
कालोसूचीमा परेका निर्माण कम्पनीलाई एक वर्षदेखि अढाई वर्षसम्मका लागि प्रतिबन्ध लगाइएको छ । यस अवधिमा ती कम्पनीले सार्वजनिक निकायबाट हुने कुनै पनि खरिद प्रक्रियामा सहभागी हुन पाउने छैनन् ।
कार्यालयले सार्वजनिक खरिद प्रक्रियालाई पारदर्शी, प्रतिस्पर्धी र जिम्मेवार बनाउन कानुनी व्यवस्थाअनुसार कारबाही गरिएको जनाएको छ ।


