झापा, १० मंसीर । सुनसरीको धरानस्थित आसरा सुधार केन्द्र पानवारीमा महिला लागुऔषध दुर्व्यसनीको उपचार तथा पुनःस्थापनाका लागि महिला सुधार केन्द्र भवन निर्माण सुरु हुने भएको छ ।
मङ्सिर १० गते आयोजित कार्यक्रमबीच कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) शेखर खनालले भवनको शिलान्यास गरेका हुन् ।

हाल आसरा सुधार केन्द्र पानवारीमा पुरुष दुर्व्यसनीलाई मात्र उपचार सेवा प्रदान गरिँदै आएको छ । पछिल्लो समय महिला लागुऔषध दुर्व्यसनीको संख्या पनि बढ्दै गएको र उनीहरूको उपचार तथा पुनःस्थापनाका लागि छुट्टै आवासीय भवन आवश्यक भएपछि महिला सुधार केन्द्र निर्माण प्रक्रिया अघि बढाइएको हो ।
भवन शिलान्यास गर्दै डीआईजी खनालले लागुऔषध दुर्व्यसनमा फसेका महिलालाई लक्षित गरी सुधार केन्द्र स्थापना गर्न लागिएको बताए । सुविधासम्पन्न सुधार केन्द्र सञ्चालनमा आएपछि दुर्व्यसनबाट प्रभावित महिलालाई उपचारसँगै समाजमा सहज रूपमा पुनःस्थापित गर्न सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे ।
शिलान्यास कार्यक्रममा कोशी प्रदेश प्रहरी तालिम केन्द्र विराटनगरका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठ, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक योगेन्द्रसिंह थापा, जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक पुष्पराज मल्ल, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रमुख प्रहरी उपरीक्षक दीपक गिरी, सुधार केन्द्र सञ्चालक समितिका प्रथम उपाध्यक्ष शिला बज्राचार्यलगायत स्थानीय सञ्चारकर्मीको उपस्थिति रहेको थियो ।

