भद्रपुर, ११ मंसिर । झापामा कृषि सामग्री तथा खाद्य वस्तुको बिक्री वितरणमा अनियमितता गरेको पाइएपछि चारवटा कृषि पसल तथा फर्मलाई जिल्ला प्रशासन कार्यालयले कारबाहीको दायरामा ल्याएको छ ।
जिल्ला प्रशासन कार्यालय झापाको नेतृत्वमा मङ्सिर ११ गते झापा गाउँपालिका क्षेत्रमा गरिएको संयुक्त बजार अनुगमनका क्रममा चारवटा पसलमा अनियमितता भेटिएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा कृषि ज्ञान केन्द्र झापाका प्रमुख, उपभोक्ता जागरण अभियान झापाका अध्यक्ष, प्रहरी चौकी शरणामतीका प्रहरी प्रतिनिधि तथा स्थानीय पत्रकारसहितको टोलीले अनुगमन गरेको थियो ।
अनुगमनका क्रममा मण्डल एग्रो एण्ड फिड सप्लायर्स झापा गाउँपालिका–६ शरणामतीमा सरकारी अनुदानको मल तथा बिउबिजन खरिद, भण्डारण र बिक्री वितरण नियम अनुसार भएको पाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
त्यस्तै, सुरुची एण्ड श्रीयन खाद्य भण्डारमा अनुमति नलिई बिउबिजन बिक्री वितरण गरेको पाइएकाले बिउबिजन जफत गर्नुका साथै पसलबाट १ हजार ८४० रुपैयाँ मूल्य बराबरको म्याद गुज्रिएको खाद्य पदार्थसमेत नष्ट गरिएको छ ।
यसैगरी, न्यू देउमाई कृषि सहकारी संस्था लिमिटेडमा रासायनिक मल बिक्री वितरणको अवस्था दुरुस्त रहे पनि उक्त सहकारीले बिक्री वितरण गरेको मलको विवरण र हिसाबकिताबसम्बन्धी कागजात पेस गर्न नसकेको पाइएको छ । आवश्यक कागजात सम्बन्धित निकायमा पेस नगरेसम्म बिक्री कक्ष शील गरिएको प्रशासनले जनाएको छ ।
त्यसैगरी, झापा गाउँपालिका–३ मा रहेको आयुष्मा भेटेरिनरी फिल्ड सप्लायर्समा सरकारी अनुदानको मल तथा बिउबिजन खरिद, भण्डारण र बिक्री वितरण नियम अनुसार भएको पाइएको जनाइएको छ । छ । उपभोक्ता संरक्षण ऐन, २०७५ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम आवश्यक निर्देशन तथा कारबाही गरिएको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालयले उपभोक्ताको संरक्षण र बजारमा हुने अनियमितता नियन्त्रणका लागि अनुगमनलाई निरन्तरता दिने जनाएको छ ।

